काठमाडौं । भ्रष्टाचार गर्नेले नदीको छाल गनेर पनि खान्छ भन्ने उक्ति सर्वोच्च अदालतमा देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भाइ प्रभुशमशेर राणादेखि विभिन्न बिचौलियामार्फत् मुद्दामा सेटिङ गरी अरबौं भ्रष्टाचार गरेको बिषयमा सर्वोच्च अदालतका न्यायाधीशहरुले उनको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्नेदेखि नेपाल बार एशोसिएसनले गएको कात्तिक ८ देखि आन्दोलन गरिरहेको छ ।
सर्वोच्चका न्यायाधीश र बारको आन्दोलन र भ्रष्टाचारका फेहरिस्त नै सार्वजनिक हुँदा पनि प्रधानन्यायाधीश राणाले नैतिकताका आधारमा राजीनामा नदिई पदमा लिसो झैं टाँसिएर बसेका छन् । न्यायाधीशहरुको इजलास बहिस्कार र बारको आन्दोलनले सर्वोच्च अदादतमा गोलाप्रथाबाट पेशी तोक्ने क्रम गएको मसिरदेखि सुरु भएको छ । तर भ्रष्टाचार गर्नेले नदीको छाल गनेर खान्छ भनेझैं प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू भएपछि पनि मुद्दामा सेटिङ गर्ने क्रम जारी नै राखेका छन् ।
राणाका भाइ प्रभुशमशेरले सार्वजनिक जग्गादेखि ब्यापारिक स्वार्थका मुद्दामा यसअघि लिएको करोडौं घुस पचाउनका लागि प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू भएपछि पनि मुद्दामा सेटिङ गरि नै रहेको स्रोतले बताएको छ । गोलाप्रथा लागू भए पनि इजलासमा न्यायाधीश तोक्ने अधिकार प्रधानन्यायाधीशलाई नै छ । इजलासले गोला तान्ने हो । सर्वोच्चमा सामान्यतया ८ वटा बेन्च गठन हुन्छ । ८ वटा इजलास तोक्दा प्रधानन्यायाधीश राणाले आफ्ना सेटिङ भएका न्यायाधीशलाई राखेर तोक्ने गरेका छन् ।
सर्वोच्चका ९ न्यायाधीशलाई राणाले आफ्नो निकट बनाएका छन् । राणाले उनीहरुमध्ये सिनियर न्यायाधीशलाई राखेर इजलास गठन गर्ने र गोला तान्दा उनीहरुमध्येको बेन्चमा परेमा सेटिङ अनुसार आदेश गर्ने, नपरे त्यो मुद्दा सार्न लाउने गर्दछन् । राणाको टीमका न्यायाधीशहरुमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, टंक मोक्तान, मनोजकुमार शर्मा, हरि फुयाँल, प्रकाशकुमार ढुंगाना, नहकुल स्ुवेदी र कुमार चुडाल हुन् ।
इजलासमा कुन न्यायाधीश रोज्ने भन्ने तजबिजी अधिकार अझै प्रधानन्यायाधीश राणाकै हातमा भएकाले पनि अहिले पनि निर्वाध सेटिङ चलिरहेको छ । राणाका भाइ प्रभुसहितका बिचौलियाहरुले अहिले पनि सर्वोच्च अदालतमा सेटिङमा मुद्दा जिताउने ठेक्का लिई नै रहेका छन् । न्यायाधीश रोज्न पाउने अधिकार प्रधानन्यायाधीश राणालाई भएकाले उनले ८ वटै बेन्चमा आफ्ना निकट न्यायाधीश घुसाई चलखेल गर्दैआएका छन् । उदाहरणका लागि प्रधानन्यायाधीश राणाले २०७८ पुस १९ मा तोकेको बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासलाई नै लिन सकिन्छ । जुन इजलासले आर्थिक सरोकारको ब्यापारिक घराना ज्योति ग्रुपसँग जोडिएको हिमाल आइरन एण्ड स्टील्स प्रालिको आयकरको मुद्दामा आदेश दिएको छ । पुस १९ मै तेजबहादुर केसी र कुमार चुडाल रहेको इजलास पनि राणाले तोकेका थिए ।
८ वटा बेन्चमध्ये २ देखि ३ वटा इजलास आफूअनुकूलका न्यायाधीश राखेर गठन गर्ने र अरु बेन्चमा आफू निकटका न्यायाधीश घुुसाउने र हेर्न नभ्याइनेमा राख्ने, हेर्न नमिल्ने वातावरण बनाउने र त्यति गर्दा पनि सेटिङ भएका मुद्दामा आफू अनुकूलका न्यायाधीशबाट राय बझाउनेसम्मको बिचौलियाहरुको रणनीति अनुसार राणा चल्ने गरेका छन् ।
एक कानुन ब्यवसायी भन्छन्–‘पु्स १९ को मात्रै होइन, हरेक दिनका बेन्चको गठन प्रक्रिया हेर्ने हो भने पुस १९ कै प्रकृतिका छन् । र, सर्वोच्चमा सेटिङ विगतमा जस्तै सुचारु छ । आर्थिक सरोकारका ठूला मुद्दामा बिचौलियाहरुले अहिले निर्धक्क करोडौंको सेटिङ गरिरहेका छन् ।