Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाउँपालिकाकाे भवन निर्माण अलपत्र, ठेकेदारकाे जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश 


    मंगलबार, पुष २७ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । उच्च अदालत पाटनले खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारको कार्यसम्पादन जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

    प्रशासनिक भवन निर्माणको जिम्मा लिएको रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर, काठ्माण्डौंले सार्वजनिक खरिद ऐनविपरीत काम गरेको भन्दै गाउँपालिकाले कार्यसम्पादन जमानत जफतका लागि नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड, बागबजार, काठ्माण्डौंलाई पत्राचार गरेको केही समयपछि अदालतको अल्पकालिन अन्तरिम आदेश आएको हो । 

    न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले कार्यसम्पादन जमानत जफतका लागि नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडलाई गरिएको पत्राचारलाई कार्यान्वयन नगर्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे हाे ।

    गाउँपालिकाले बैंकबाट जारी भएको ठेकेदारको ३१ लाख २ हजार १३० रुपैयाँको कार्यसम्पादन जमानत रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नका लागि गत ११ पुसमा बैंकलाई पत्राचार गरेको थियो । 

    सार्वजनिक खरिद ऐन बमोजिमको आचरण उल्लंघन गरेको भन्दै गाउँपालिकाले ठेक्का तोडेर रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीलाई कालोसूचीमा राख्न र कार्यसम्पादन जमानत फिर्ताका लागि सिफारिस गरेको हो । निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहिन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको पास भएको नक्कली ल्याव रिपोर्ट बनाएको खुलेपछि गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम भवन निर्माण सम्वन्धी ठेक्का रद्ध गर्ने निर्णय गरेको थियो ।

    गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनीका प्रतिनिधिले पास भएको नक्कली ल्याव रिपोर्ट तयार पारेर पेश गरेको पाइएपछि कारबाही अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार