काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को मंसिरसम्मको बितेका पाँच महिनाको अवधिमा आर्थिक सहायताको नाममा राज्यको ढुकुटीबाट ३ करोड रुपैयाँ वितरण गरेको छ ।
सरकारले सो रकम मुलुकका उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा खर्च गरेको हो । उच्च पहुँचका आधारमा उनीहरूलाई सो रकम वितरण गरिएको हो ।
पहुँचका आधारमा आर्थिक सहयोग लिनेहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवलगायतका उच्चपदस्थ व्यक्तिसम्म रहेका छन् ।
अर्थ मन्त्रालयले रकमान्तर गरी गृहलगायतका मन्त्रालयबाट विभिन्न व्यक्तिलाई सरकारले आर्थिक सहायता रकम बाँडेको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा राज्यकोषबाट आर्थिक सहयोग लिने उच्च पदस्थ व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार रुपैयाँ लिएका छन् । उनले दिल्लीस्थित एपोलो अस्पतालमा गरेको उपचार खर्चका लागि राज्यकोषबाट सो रकम सहयोग लिएका हुन् ।
यसैगरी, सो अवधिमा सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख रुपैयाँ, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख रुपैयाँ र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको अर्थ मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकबाट