विराटनगर । आइतबार विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तोडफोड गरेका छन् ।
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि विद्यार्थीले तोडफोड गरेका हुन् ।
विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा केही विद्यार्थी घाइतेसमेत भएका छन्।
उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् । अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ।
नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो।
तर आइतबार पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।