काठमाडौं । अरुको अधिकारका लागि लड्ने एक अधिकारकर्मी आफैं पीडित भएकी छन् । अधिकारकर्मी बन्दिता थापा आफैं पीडित भएर न्याय माग्दै प्रहरी र महानगरपालिकामा धाइरहेकी छन् । मोर्गन कलेजका संचालक दीपेन्द्र भण्डारीले अधिकारकर्मी बन्दिता थापाको जग्गामा लगाएको पर्खाल र गेट भत्काइदिएपछि उनी न्याय माग्दै महाराजगंज प्रहरी बृत्त र काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा धाइरहेकी छन् ।
थापाको काठमाडौं महानगरपालिका वडा नम्बर ४ चुनदेवीमा रहेको जग्गामा लगाएको पर्खाल र गेट मोर्गन कलेजका संचालक दीपेन्द्र भण्डारीले भत्काइदिएका छन् । र, थापाको जग्गामा उनलाई सोध्दैनसोधी टहरो बनाएर माटो थुपार्ने र निर्माण सामग्री राखेका छन् । अनुमतिविना नै उनको जग्गामा लगाएको पर्खाल र गेट भत्काएको देखिएपछि थापाले बनाइदिन र आफ्नो जग्गामा राखेको निर्माण सामग्री र माटोका साथै अनधिकृत रुपमा बनाएको टहरो भत्काउनका लागि बिहीबार महानगरीय प्रहरी परिसरमा निवेदन दिएकी थिइन् । प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले हेर्ने भन्दै उता पठाइदियो ।
वडा कार्यालयले थापाको जग्गाको पर्खाल र गेट भत्काएको र अनुमतिविना नै उनको जग्गामा टहरो निर्माण गरेको, निर्माण सामग्री थुपारेकोबारेमा छलफल गरी समस्या समाधान गर्नका लागि पटक पटक बोलाउँदा पनि दीपेन्द्र भण्डारी नआएको वडाध्यक्ष मोहन बिष्टले बताए । उनले भने–‘हामीले छलफल गराई समस्या समाधान गर्ने भनेर भण्डारीलाई सम्पर्क गरी बोलायौं । तर उहाँ कहिले फोन नउठाउने त कहिले फुर्सद छैन भन्दै नआउने गरेका कारण समस्या समाधान हुन सकेको छैन । अनुमति लिएर टहरो बनाएको भए हुने थियो । भण्डारीले पर्खाल र गेट बनाइदिनैपर्छ, बिष्टले भने–‘म भण्डारीलाई बोलाएर समस्या समाधान गराउन, कागज नै गराउन प्रयास गर्नेछु ।’
भण्डारीले बन्दिता थापाको जग्गासँगै आफ्नो घर निर्माण गरिरहेका छन् । त्यो घर निर्माण गर्न छिमेकीको जग्गाधनीसँग अनुमति लिनुपर्नेमा नलिई ताल्चा लगाइरहेको गेट फोडेर उनले निर्माण सामग्री राख्ने, आफ्नो जग्गाको माटो थुपार्ने र टहरो बनाई कामदार राखेका छन् । तर जग्गाधनी थापालाई थाहा समेत नदिई उनले अनधिकृत रुपमा जग्गा कब्जा गरी टहरो बनाएकाले थापाले हटाउन र गेटका अलावा पर्खाल निर्माण गर्न अनुरोध गरिन् । तर भण्डारीले ‘जग्गा नै तेरो होइन भन्दै मनपरी गालीगलौज गरेको’ थापाको गुनासो छ । प्रहरी र वडाध्यक्षले बोलाउँदा नआउने तर फोन गरी ‘डाक्टर हुँ, कलेज संचालक हुँ भन्दै बनाइदिन्छु भन्ने तर छलफलमा नआउने गरेको थापाले बताइन् ।
‘मेरो पुख्र्यौली जग्गामा मसँग सोध्दै नसोधी मैले ताला लगाएको गेट फोडिन्छ, पर्खाल भत्काइन्छ । संविधानले नै मौलिक हकका रुपमा प्रत्याभूत गरेको मेरो सम्पत्ति(जग्गा)मा अनधिकृत रुपमा टहरो बनाउने पाइन्छ ? यो देशमा भण्डारीजस्तालाई जे पनि गर्न छुट छ ? मैले न्याय माग्न कहाँ जाने ?’ थापाको आक्रोसपूर्ण प्रश्न छ–‘म अरुको अधिकारका लागि लड्दैआएको मानिस आफैं यस्तो अन्यायमा परें, न्याय माग्न जाँदा अन्याय गर्ने ब्यक्ति (भण्डारी)प्रहरी र वडाध्यक्षले बोलाउँदा फुर्सद छैन भन्छ । ऊ प्रहरीले बोलाउँदा नआए पक्राउ गरी ल्याउनुपर्ने होइन ?’
थापाले भनिन्–‘मलाई मेरो जग्गामा समेत जान भण्डारीले रोक लगाएका छन् । टहरो कसको अनुमतिले बनाएको, निर्माण सामग्री किन थुपारेको हटाऊ भन्दा उल्टै प्रहरी प्रशासन जहाँ जानुपर्छ, गए हुन्छ, टहरो पनि भत्काउँदिनँ, माटो पनि हटाउँदिनँ, म शक्तिशाली मानिस हुँ भन्दै अटेरी गर्दैआएका छन्् । भण्डारीले प्रहरीलाई पनि आफू पहुँचवाला मानिस भएको भन्दै तर्साएकाले ममाथि अन्याय गर्नेलाई पक्राउ नगरिएको महसुस भएको थापाको गुनासो छ ।’
थापाले टहरो हटाउन, गेट र पर्खाल बनाउन आग्रह गर्दा भण्डारीले चुल्ठेमुन्द्रे खटाएर अपशब्द प्रयोग गरेको थापाले बताइन् । थापाको जग्गा अनधिकृत रुपमा कब्जा गरी टहरो बनाएका भण्डारी महानगरपालिकाका प्रहरी, प्रहरी प्रशासन र वडा कार्यालयले पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएका छैनन् । प्रहरी बृत्त महाराजगंजका डीएसपी प्रमेश बिष्टले भने–‘थापाको जग्गा कब्जाका बारेमा परेको उजुरीपछि हामीले काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा पठाएका हौं, दिनमा २ पटक असईको कमाण्डमा प्रहरी खटाएका छांै । वडाले पक्राउ गर नभनेसम्म हामीले मिल्दैन ।’
थापाको जग्गामा अनधिकृत रुपमा टहरो बनाएका भण्डारीसँग प्रतिक्रियाका लागि पटक पटक मोवाइल सम्पर्क गर्दा पनि उनले रिसिभ गरेनन् ।