काठमाडौं । गृहमन्त्रालयले भ्रष्टाचार आरोप लागेकी एसएसपी पूजा सिंहलाई डीआइजीको एक दरबन्दी थप गरी बढुवा सिफारिस गरेको छ । गृहमन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले एसएसपी सिंहलाई शुक्रबार डीआइजी बढुवा सिफारिस गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकी सिंहलाई बिहीबार मात्रै गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा गरिएको थियो । काभ्रेको एसपी हुँदा पूजा सिंहले सिपाहीको टीएडीएसमेत खाएको आरोप लागेको थियो ।
पूजा सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टीएडीए नदिएर आफैंले हिनामिना गरेको आरोप लागेको छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापाल धुब गौतमसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए मिलेर खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो । तर टीएडीए खाने मुख्य दोषी कमाण्डर पूजा सिंहको अनुसन्धान टुंगिएको छैन । र, विशेष अदालतमा मुद्दा दायर भएको छैन । अनुसन्धान अधिकृतले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले मुद्दा दायर गरेनन् । उनीपछिका प्रमुख आयुक्त प्रेम राईले पनि उनको मुद्दा दर्ता गरेका छैनन् । तिनै सिपाहीको टीएडीए खाने सिंह एसएसपी भइन् । अहिले डीआइजी बढुवा सिफारिस भएकी छन् ।
मदन पुरस्कार प्राप्त साहित्यकार डीआइजी महेशबिक्रम शाहले दुधौली तालिम केन्द्रमा गरेको रासन घोटालामा उनी बिरुद्ध २०७६ फागुन २० मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग¥यो । तर शाहको भन्दा अघि नै अनुसन्धान सकेर प्रतिवेदन बुझाएको पूजा सिंहको मुद्दा भने ६ बर्षसम्म पनि दायर भएको छैन ।
२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म सिन्धुलीको दुधौली तालिम केन्द्रको समादेशक बनेका पूर्वडीआइजी महेशविक्रम शाहबिरुद्ध तालिमे जवानको तलब हिनामिनाको आरोपमा अख्तियारले २०७६ फागुन २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शाहसँग सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । तर पूजा सिंहले २०७१ मै सिपाही हवल्दारको टीएडीए कीर्ते गरी खाएकोबारेमा प्रमाणसहित उजुरी परेर अनुसन्धान गरिसकेपछि मुद्दा दायर गरेको छैन ।
टीएडीए खाने पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । तर पूर्वराष्ट्रपति डा. रामबरण यादवको दबाबमा पूजा सिंहको भ्रष्टाचार मुद्दा दर्ता होइन, बढुवा पो भएको छ ।