एजेन्सी । भारतमा बाबा रामदेवले कोरोना संक्रमणको औषधि पत्ता लगाएको दाबी गरेता पनि त्यसलाई सरकारले प्रतिबन्ध लगाएको छ । रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ल्याएको कोरोना निको पार्ने दाबी गरिएको औषधि ‘कोरोनिल’ माथि भारतले प्रतिबन्ध लगाएको छ ।
मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको भारतीय पत्रिका हिन्दी जागरणले उल्लेख गरेको छ । भारतीय आयुष मन्त्रालयले पतन्जलीलाई कोरोनिल नामक औषधीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको छ ।
राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन नगर्नू भनेको छ । बाबा रामदेवले उक्त औषधि कोरोना बिरामीमा परीक्षण गर्दा तीनदेखि ७ दिनमै ठीक हुने दाबी गरेका थिए । जुन समाचार मंगलबार भारतदेखि नेपाल लगायतका देशमा भाइरल भएको थियो ।
आयुष मन्त्रालयले पतन्जलीसँग औषधीबारे सम्पूर्ण प्रमाणहरु ल्याउन निर्देशन दिएको छ । आयुष मन्त्रालयले कोरोनिलको बारेमा सबै अध्ययन गरिसकेपछि मात्र अनुमति दिने नदिनेबारेमा निर्णय हुने बताएको छ । र, पतन्जलीले अनुमति नै नलिई औषधि बनाएको कुरासमेत उल्लेख गरेको छ ।