Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयल निगमका सुरेन्द्र पौडेलको कार्यकाल समाप्त, मूल्यबृद्धिलाई सस्तो बजार हल्लाका रुपमा नलिन सुझाव


    बिहिबार, पुष २२ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल आजबाट समाप्त भएको छ । निगमको ३ बर्षे कार्यकालमा पौडेलले निर्विवाद ढंगले सबैसँग समन्वय गरी बिदा भएका छन् । उनले स्वचालित मूल्यप्रणाली अवलम्बन गरी अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा कम गर्दै लगेकै हुन् । १ सय ४० रुपैयाँ पुगेको पेट्रोलको मूल्य उनी आएपछि ९६ रुपैयाँसम्म झरेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यबृद्धि हुने क्रममा नेपालमा पनि बृद्धि गर्नु बाध्यता भए पनि त्यसबिरुद्ध विद्यार्थी संगठनले सस्तो लोकप्रियताका लागि बिरोध गर्दैआएका छन् । पेट्रोलको मूल्य ३ बर्षअघि १ सय ४० रुपैयाँ प्रतिलिटर पुगेको पनि बिर्सिदै निगमबिरुद्ध आन्दोलन गर्दा भारतबाट आएको इन्धन भारततर्फै तस्करी हुने गरेको छ ।

    भारतबाट इन्धन आयात हुन्छ, तर मूल्यबृद्धि नगरी घाटामा बिक्री गर्दा सीमाक्षेत्रबाट पेट्रोल, डिजल तस्करी हुँदैआएको छ । सीमा क्षेत्रका प्रहरी प्रशासनकै मिलेमतोमा इन्धन भारत तस्करी हुने गरेको छ । पौडेलले सीमा क्षेत्रका पेट्रोल पम्पहरुमा तस्करी रोक्नका लागि तेलको कोटा घटाउँदा पनि खुलासीमाका कारण रोकिन सकेको छैन । नोक्सानीमा संचालित उदयपुर सिमेन्टलाई पौडेल महाप्रबन्धक हुँदा नाफा गराएकाले उनको कुशल ब्यवस्थापन देखेर आयल निगममा उनलाई तत्कालीन सरकारले तीन बर्षअघि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पौडेलले जस्तासुकै कठिन परिस्थितिमा पनि इन्धनको समुचित बितरण गरी अभाव हुन दिएनन् ।   

    तीन बर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएका पौडेलले सामाजिक संजालमा आफ्नो कार्यकालमा सकेसम्म निगम सुधारका लागि लागिपरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वत्तोमुखी हितलाई अर्जुनदृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ । २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले मलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ ।  यसक्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्याङ्कन इतिहासलाई छाडेको छु ।’

    पौडेलले समग्र इन्धन आपूर्तिको सम्वेदनशील निकाय निगमको नेतृत्वका लागि मलाई योग्यतम ठानेर विश्वास गर्नुहुने तत्कालीन प्रधानमन्त्री र उहाँको नेतृत्वको मन्त्रिपरिषद्का साथै निरन्तर साथ, सहयोग र भरोसा गर्नुहुने वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषदका साथै इन्धन आपूर्तिमा अहोरात्र खटिने सहकर्मी साथै मजदूर, निगमको विवशता र सम्वेदनशीलता बुझेर सात्विक सूचना सम्प्रेषण गर्नेे पत्रकार व्यवसाय र मुनाफा भन्दा माथि उठेर सेवाभावले लाग्नुहुने समस्त इन्धन र ग्याँसका आपूर्तिकर्ता साथीहरुप्रति आभार प्रकट गरेका छन् ।

    पौडेलले इन्धनको मूल्यबृद्धिलाई रोक्न निगमको प्रयासले मात्र सम्भव नहुने कुरामा प्रकाश पार्दै उनले करको बिषय पनि उठाएका छन्–‘विश्वब्यापी बहावका स्वाभाविक असर स्वरुप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार हल्ला र राजनैतिक बिषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथाशीघ्र समाधानउन्मुख समाधान खोज्न सुझावसहित अत्यावश्यक समग्र इन्धन र ग्याँस आपूर्तिको नवीन चुनौतीलाई सफलतम मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना दिँदै बिदा चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार