अमेरिकाबाट नेपाल आउन पाउँदा हर्षित नेपाली । फोटो साभारः इनेप्लिज डटकम
काठमाडौं । अमेरिकामा घुम्न र अरु विभिन्न कारणले गएका करिब २ सय ८१ जना नेपाली मंगलबार नेपालतर्फ उडेका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण ३ महिनादेखि नेपाल आउन नपाएका करिव २ सय ८१ जना नेपाली न्यूयोर्कबाट मंगलबार नेपालतर्फ उडेका छन् ।
न्यूयोर्कको जेएफके अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिकी समय अनुसार करिव बिहानको ११ बजे नेपाली यात्रु बोकेको विमान उडेको हो । नेपालीलाई टर्किस हवाई जहाजबाट वासिङ्टन डिसी स्थित नेपाली राजदूतावासको समन्वयमा काठमाडौंमा आउने ब्यवस्था मिलाइएको बताइएको छ ।
उक्त उडान डिसीबाट उड्ने भनिएता पनि यात्रु नपुगेका कारण न्यूयोर्क बाट व्यवस्था गरिएको थियो ।
३ महिनासम्म पिंजडाको सुगा थुनिएझैं घर र कोठामै बस्नुपरेका सवै यात्रुहरु प्रफूल्ल र हसिलो खुसिलो अनुहार पार्दै मुस्कान र हासो साथ दंग परेको इनेप्लिज अनलाइनले उल्लेख गरेको छ ।
नेपाल उड्नेमध्येकै एक यात्री नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पनि थिए । उनी लकडाउनअघि अमेरिका घुम्न गएका थिए ।