काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले बर्षेनी करोडौंका जग्गा बिक्री गर्छ । तर पनि उक्त कम्पनी घाटामा संचालित छ । कम्पनीका कर्मचारी भने सरकारी जग्गा अपारदर्शी ढंगले बिक्री गर्दै करोडौं करोडका मालिक बनेका छन् । कम्पनी दुब्लाउँदै जाने तर कर्मचारी भने मोटाउँदै गएका छन् । राष्ट्रिय आवास कम्पनी आफन्त भर्तिकेन्द्र बनाइएको छ ।
कम्पनीका केही कर्मचारीका आफन्तहरुलाई अस्थायी र करारमा राखी तलवभत्तामा फजुल खर्च गरिएको छ । कम्पनी घाटामा जाने तर त्यहाँ आफन्त भर्तिकेन्द्र बनाएर ब्रम्हलुट मच्चाउँदा पनि महाप्रबन्धक नारायणप्रसाद बाँस्तोलाले सुधारका लागि प्रयास गर्ने, जग्गा बिक्रीमा पारदर्शीता अपनाउने, अस्थायी र करारामा राखिएका अनावश्यक कर्मचारीको नवीकरण नगरी तिनीहरुलाई बिदा गर्नेतिर भन्दा पनि तिनै कर्मचारीसँग मिलेमतो गर्र्दैआएका छन् ।
जग्गा बिक्रीमा भएको अनियमितता र कम्पनी आफन्त भर्तिकेन्द्र बनाएकोबारेमा महाप्रबन्धक बाँस्तोलाले भने–अरु धेरै कुरा छन्, भेटमा कुरा गरौंला भन्दै पन्छिए ।
राष्ट्रिय आवास कम्पनीको नाम नै आफन्त भर्तिकेन्द्र कम्पनी राखे पनि हुने त्यहाँका कर्मचारीको सूची हेर्दा स्पष्ट हुन्छ । कर्मचारी आवश्यक भए विज्ञापन गरी प्रक्रिया पूरा गरेर राख्न सकिन्छ । तर विनाप्रतिस्पर्धा आफन्त भर्ति गरिएको छ, त्यो पनि आवश्यकताका आधारमा होइन, फगत आफन्तलाई जागिर खुवाउनका लागि मात्रै ।
कावासोतीको १५ करोडको जग्गा कीर्ते गरी बिक्री गर्ने योजना कार्यालय नवलपरासी माकरका निमित्त प्रमुख महेन्द्र थापाका तीन पुस्ता नै राष्ट्रिय आवास कम्पनीमा कार्यरत रहेका छन् । उनका बाबु कम्पनीबाट केही समय अवकाश भइसकेका छन् । थापाकी श्रीमती द्रोणशोभा गाम्छाकी मगरलाई कम्पनीको केन्द्रीय कार्यालयमा शाखा अधिकृतमा करारमा भर्ति गरिएको छ । थापाकी भाउजू सुनिता मगरलाई करारमा राखीयोजना कार्यालय काभ्रेमा प्रशासन प्रमुख बनाइएको छ । थापाकै परिवारका ४ जनालाई राष्ट्रिय आवास कम्पनीमा करारमा राखिएको छ ।
लेखा अधिकृत अश्विनी खड्काले आफ्नै छोरा आशिष खड्कालाई इन्जीनीयरमा करारमा भर्ति गरेका छन् । त्यहाँ लामो समयदेखि कार्यरत इन्जीनीयरलाई हटाई उनले आफ्नै छोरालाई राखेका छन् । बाबु लेखा अधिकृत भएकाले छोरालाई मनपरी काज पठाई मासिक ५० औं हजार भुक्तानी दिने गरेका छन् । बाबु लेखाअधिकृत भएकाले कम्पनीको कुनै काम नै नभए पनि छोरो इन्जीनीयरलाई काज पठाउने र मनपरी टीएडीएको भुक्तानी दिई सरकारी रकम दुरुपयोग गर्दैआएका छन् । आफ्नै हात जगन्नाथ भन्ने उखानलाई चरितार्थ गर्दै बाबुले छोरालाई काज स्वीकृत गर्ने र भुक्तानी दिने, कतिपय जाँदै नगई फर्जी बिलमात्र ल्याई भुक्तानी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा खुल्ने स्रोत बताउँछ ।
लेखाअधिकृत अश्विनी खड्काले लामो समयदेखि कार्यरत इन्जीनीयरलाई भर्ना गर्नुभएछ भन्ने प्रश्नमा उनले गोलमोटोल जवाफ दिए । सबै कुरा महाप्रबन्धक नारायण बास्तोलालाई सोध्नुस भन्दै तर्किए । उनले भने–‘कम्पनीको बारेमा हामीले केही भन्न मिल्दैन, महाप्रबन्धकलाई सोध्नुहोला ।’ छोरालाई घुम्न पठाउने र काज स्वीकृत गर्दै भुक्तानी दिन मिल्छ भन्ने जिज्ञासामा उनले भने–‘महाप्रबन्धककै निर्देशनमा फिल्डमा काम पर्दा पठाइएको हो ।’
त्यसैगरी, कम्पनीमा सहायक चौथो तहमा कार्यरत कविन्द्र चौहानले श्रीमती शारदा क्षेत्रीलाई करारामा शाखा अधिकृतस्तरको जागिर खुवाएका छन् । आफूभन्दा पनि माथिल्लो तहको सेवा सुविधा दिनेगरी उनले श्रीमती क्षेत्रीलाई भर्ति गरेका छन् । चौहान आफू १२–१३ बर्षदेखि अस्थायी जागिरे हुन् । तर आफू १३ बर्षदेखिको अस्थायी कर्मचारी भन्दै स्टोरदेखि कम्पनीका अरु आम्दानी हुने ठाउँमा बस्ने नैसर्गिक अधिकार भन्दै ब्रम्हलुट गर्न तल्लीन छन् ।
लेखाअधिकृत, खड्का, नवलपरासीबाट छानबिनमा तानिएका महेन्द्र थापा, स्टोरका हर्ताकर्ता चौहानले मनपरी गरेपछि कार्यालय सहयोगी ओम शिवाकोटीले पनि पोल खोलिदिन्छु भनी छोरी उषा शिवाकोटीलाई सहायक चौथो तहमा अस्थायी जागिर खुवाएका छन् ।
राष्ट्रिय आवास कम्पनीको नवलपरासीको कावासोती नगरपालिका (साविक दाउन्नेदेवी गा.वि.स. (ङ)को १५ कट्टा जग्गा संजय क्षेत्रीलाई सुटुक्क गैरकानुनी रुपमा बिक्री गरेको बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । १५ करोडभन्दा बढी मूल्यको आवास कम्पनीको सरकारी जग्गा कीर्ते कागजात तयार गरी संजय क्षेत्रीलाई बिक्री गर्ने महेन्द्र थापालाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा नवलपरासीको माकरस्थित योजना कार्यालयको प्रमुखबाट तानिएको छ । उनले कावासोती नगरपालिकाका अरु धेरै जग्गा बिक्री गरेको आशंका सहरी विकास मन्त्रालयको छ । कम्पनीको जग्गा रेकर्डसमेत नराखी बिक्री गरी करोडौं भ्रष्टाचार गरेको र भूमाफियालाई अदालतमा मुद्दा दायर गर्न लगाउने र योजना कार्यालयबाट जानीजानी कमजोर बहस गरेर समेत धेरै जग्गा हिनामिनामा महेन्द्र थापा संलग्न रहेको बिषयमा समेत सहरी विकास मन्त्रालयले छानबिनका लागि उनलाई तानेको छ ।
१५ करोडको घडेरी बिक्री गरी भ्रष्टाचार गरी अख्तियारले छानबिन सुरु गरेपछि सहरी विकास मन्त्रालयमा तानिएका महेन्द्र थापासँग शाखा सन्तान सबैलाई कम्पनीमा भर्ति गर्नुभएछ नि भन्ने प्रश्नको जवाफ दिन सकेनन् । उनले श्रीमती, भाउजूलाई भर्ति गरेको स्वीकार गरे । १५ करोडको घडेरी बिक्रीको पैसा हिनामिनाका बारेमा उनले भने, त्यस्तो होइन, त्यस्तो गरेको छैन मात्र भने ।
राजा महेन्द्रले २०२० मा तराईमा पुनर्वास गराउन स्थापना पुनर्वास कम्पनी प्रालिलाई २०४६ फागुन ९ मा ग्रामीण आवास तथा बस्ती विकास कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको थियो । २०६९ असार २८ मा ग्रामीण आवास तथा बस्ती विकास कम्पनी लिमिटेडबाट राष्ट्रिय आवास कम्पनीमा रुपान्तरण भएको हो ।
‘कम्पनीको नाममा अरबौं अरबका जग्गा छन् । ती जग्गा बिक्री अपारदर्शी ढंगबाट भएका छन् ।
नवलपरासीका मात्र होइन, काभ्रेको श्रीखण्डपुरका मूल्यवान जग्गाहरु पनि कौडीको मूल्यमा सेटिङमा बिक्री गर्ने कार्य राष्ट्रिय आवास कम्पनीबाट भइरहेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अरबौं मूल्यका सरकारी जग्गा बिक्री हुनबाट रोक्न तत्काल पहल सुरु गर्नुपर्छ । सरकारको काम जग्गा प्लटिङ गरेर बिक्री गर्ने होइन, राष्ट्रिय आवास कम्पनीले बिक्री गरेका अरबौंका जग्गाहरुको छानबिन गर्नुपर्छ । अरबौंको घोटाला छताछुल्ल हुनेछ’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारी भन्छन्–‘यो कम्पनी तुरुन्त खारेज हुुनुपर्छ । सीमित कर्मचारीका आफन्त राखेर लुट्ने क्रम बन्द हुनुपर्छ ।’
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend