Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले पाइप बगायो ,बागलुङ बजारमा खानेपानी समस्या


    मंगलबार, असार ९ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो

    गलकोट ।  बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।

    पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बगाउँदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

    पाइप मर्मतका लागि कर्मचारी आइतबारदेखि खटिए पनि अविरल वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको शर्माले बताउनुभयो । “अवरुद्ध भएको खानेपानी मर्मतका लागि प्राविधिक खटिए पनि वर्षाका कारण तीव्रगतिमा काम भएको छैन”, शर्माले भन्नुभयो, “छुट्टाछुटै स्थानमा गएको पहिरोले पाइप बगाउँदा मर्मतमा धेरै समय लाग्ने भएको हो ।” निरन्तर वर्षा भइरहे पनि मर्मतकार्य जारी राखिएको र बजार क्षेत्रभित्र सहजरूपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उहाँको भनाइ छ ।

    पहिरोले रेशको जिरेतीमा सडकसमेत बगाउँदा मर्मत गर्ने स्थानमा पुग्नसमेत कठिनाइ उत्पन्न भएको छ । पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार नै भएको छ । बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भुदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको छ । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार