काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले यो वर्ष देशको खस्कँदै गएको अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले भने कि देश ‘जीवन र मृत्युको ठूलो संकट’ को सामना गरिरहेको छ, त्यसैले नयाँ वर्षमा अर्थतन्त्रमा सुधार राष्ट्रिय प्राथमिकता हुनेछ।
किम जोङ उनले कोरियाको वर्कर्स पार्टीको आठौं केन्द्रीय समितिको महत्वपूर्ण बैठकलाई सम्बोधन गरेका थिए । गत साता सोमबारदेखि सुरु भएको यो बैठक शुक्रबार सकिएको हो । यो भेट उत्तर कोरियामा उनको शासनको १० वर्ष पूरा भएको बेला भएको हो ।
कोरोना भाइरसको फैलावट रोक्न उत्तर कोरियाले आफैंमा प्रतिबन्ध लगाएपछि त्यहाँबाट खाद्यान्नको अभावको खबर आउन थाल्यो ।
जनवरी २०२० मा उत्तर कोरियाले चीनसँगको आफ्नो सीमा बन्द गर्यो। किम जोङ उनले आफ्नो भाषणमा न त प्रत्यक्ष रूपमा अमेरिकाको नाम लिएका छन् न त दक्षिण कोरियाको कुनै उल्लेख गरेका छन् ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार किम जोङ-उनले सन् २०२१ ले आफ्नो अगाडि निकै कठिन परिस्थिति खडा गरेको स्वीकार गरेका छन्। उनले “देशको खाद्य संकट, खाद्यान्न अभाव र जनतालाई बस्नका लागि उचित घरको आवश्यकता जस्ता महत्वपूर्ण कार्यहरू” गर्ने लक्ष्य पनि राखे।
केसीएनएका अनुसार उनले आगामी वर्ष कोरोना महामारीसँग लड्नु आफ्नो महत्वपूर्ण उद्देश्य रहेको बताए । उनले भने, ‘देशको काममा महामारीबाट बच्न आपतकालिन जस्ता कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
तर, सैन्य अवस्थाअनुसार कोरियाली प्रायद्वीपमा अझै अस्थिरता रहेकोले उत्तर कोरियाले पनि आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धि गरिरहने उनले बताए ।गत वर्ष उत्तर कोरियाका मानिसहरूले गम्भीर खाद्य सङ्कटको सामना गरिरहेको र जाडो सुरु भएसँगै त्यहाँ ठूलो खाद्य सङ्कट आउन सक्ने रिपोर्ट आएको थियो।