काठमाडौं । नेपाल प्रहरीका जुनियर अधिकृतदेखि उच्च अधिकृतसम्म चेक अनादर (बाउन्स) जस्ता आर्थिक अपराधमा मुछिन थालेका छन् । चेक बाउन्सका उजुरीमा नेपाल प्रहरीका अधिकृतहरु पीडक वा पीडितको आर्थिक प्रलोभनमा पर्ने गरेकाले विवादमा पर्ने गरेका छन् । पछिल्लो समयमा काठमाडौं प्रहरी परिसरको प्रमुखबाट हालै सरुवा भएका एसएसपी अशोक सिंह चेक बाउन्सको बिषयमा विवादमा तानिएका छन् । उनीमाथि पनि तथ्यमा नपुगी आर्थिक प्रलोभनमा परी चेक बाउन्सको विवादमा परेको आरोप छ । हराएको चेकमा रकम भर्नेले गरेको उजुरीका आधारमा एसएसपी सिंहले सत्यतथ्यको छानबिन नै नगरी एक नागरिकलाई धम्की दिएपछि उनी विवादमा परेका हुन् ।
अशोक सिंहले हराएको चेकमा रकम भर्नेको उजुरीमा पीडितलाई दुःख दिएको घटना त एक उदाहरण हो, चेक बाउन्स जस्तो आर्थिक अपराधमा प्रहरी अधिकृतहरुले बढी नै चासो दिने गरेका धेरै घटनाहरु पाउन सकिन्छ । चेक अनादर (बाउन्स)का मुद्दा प्रहरीमार्फत् अदालतमा जाने गरेका छन् । चेक बाउन्समा प्रहरीका हाकिममात्र होइन, सादा पोशाकमा परिचालित हुँदैआएका प्रहरीका कनिष्ट अधिकृतदेखि जवानसम्म पनि चासो दिंदै मुछिने गरेका छन् । चेक बाउन्सका घटनामा प्रहरीको चासो र त्यसमा हुने चलखेलले प्रहरीको छवि नै धुमिल हुँदै गएको छ ।
चेक बाउन्सका घटनामा सादा पोशाकमा खटिएका घुमुवाहरुले पीडित र पीडक दुवैसँग मोलमोलाई गर्ने गरेका छन् । घुमुवा प्रहरीले चेक बाउन्सका घटनामा पीडकलाई बोलाउने, तर्र्साएर चेक काट्न लाउने, छलफल गराउने, पैसा तिर्न लगाउने र नतिरेमा मुद्दा चलाउनेसम्म धम्की दिने गरेका छन्् । यस्ता घटना बढीजसो उपत्यकाका काठमाडौंसहित ३ वटा जिल्लामा बढी हुँदैआएका छन् । तीनवटै जिल्लाका प्रहरी प्रमुखले परिचालन गरेका घुमुवाहरुले चेक बाउन्सका घटनामा मोटो रकम असुली गर्ने गरेका छन्् । जुन रकमको हिस्सा परिसरका मुद्दाका प्रमुखदेखि जिल्लाका प्रहरी प्रमुखसम्म पुग्ने गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल, काठमाडौंबाट केही दिनअघि सरुवा भएका एसएसपी अशोक सिंहका घुमुवाले चेक बाउन्सका मुद्दामा चलखेल गरेको घटना उजागर हुन थालेको छ । काठमाडौं बिजुलीबजारका रामकुमार बरालले आफ्नो हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउन खोज्ने सुभास भेटवालसँग मिलेर एसएसपी अशोक सिंहले तिर्नै नपर्ने रकम तिर्न धम्की दिएको उजुरी दिएका छन् ।
एसएसपी सिंहले हराएको चेकमा रकम भर्ने सुभास भेटवालसँग मिले निर्दोष नागरिक बराललाई धम्की दिएर रकम असुली गर्न खोजेको घटनाले चेक बाउन्सका घटनामा प्रहरी कसरी चलखेल गर्दछ भन्ने पुष्टि गरेको छ । हराएको चेकमा त धम्की दिएर बरालसँग असुली गर्न खोजेका एसएसपी सिंहले अरु चेक बाउन्सका उजुरीमा कति चलखेल गरेहोलान्, बर्दीको कति धेरै दुरुपयोग गरेका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
हराएको चेक भेट्टाएर आफैं रकम भरी बाउन्स गराउने सुभास भेटवालको उजुरीका आधारमा सत्यतथ्य बुझ्दै नबुझी एसएसपी सिंहले पैसा तिर्न धम्की दिएपछि सिन्धुली घर भई बिजुलीबजार बस्ने राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा पुस ८ गते निवेदन दिएका थिए । गृहले सोही निवेदनको आधारमा पुस ९ गते छानविन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । प्रहरी प्रधान कार्यालयले डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन असुली गर्न खोजिएको बरालको उजुरीमा उल्लेख छ । भेटवालले उक्त रकम बरालसँग के बापत लिएको हो, त्यसको छानबिन समेत नगरी एसएसपी सिंहले भेटवालसँग मिलेर धम्की दिएको उजुरीपछि प्रहरीभित्र अशोक सिंह प्रवृत्तिको उजागर भएको छ ।
असोज २२ गते नयाँ बानेश्वमा बसेर भेटवाललगायतसँग तास खेलेका बरालको चेक सोही दिन हराएको निवेदनमा उल्लेख छ । तास खेलेको दिन चेकको बारेमा केही थाहा नभएको र भोलिपल्ट घर पुगेर हेर्दा आफ्नो झोलामा रहेको बैंक अफ काठमाण्डू, कमलादी शाखाको ७ थान चेक हराएको बरालले थाहा पाएका थिए ।
त्यसपछि चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए । बरालको निवेदन परेपछि बानेश्वरले चेक नभेटिएको जानकारी उनलाई गराएको थियो । तर, परिसरका तत्कालीन एसएसपी अशोक सिंहले भने आफूलाई टेकु बोलाएर पैसा तिर्न दबाब दिएको बरालले उजुरीमा उल्लेख गरेका छन् । भेटवालले तास खेल्ने क्रममा उक्त चेक बरालले आफूलाई दिएको प्रहरीसमक्ष बताए पनि बरालले भने चेक नदिएको र पैसा तिर्न पनि बाँकी नभएको जनाएका छन् ।
काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते चेक दाखिला गरिएको थियो । परीक्षणका लागि प्रहरीले आफ्नो हस्ताक्षरसमेत लिएको र जाँच गरेपछि बोलाउने भनिएकोमा अहिलेसम्म खबर नगरिएको बरालको भनाइ छ। बरालले चेकमा भरिएको रकम तिर्न एसएसपी सिंहले आफूलाई दबाब दिएको भन्दै उजुरी दिएका थिए ।
एसएसपी सिंहको सरुवा भएपछि पीडितको जानकारीबिना नै भेटवाललाई प्रहरीले चेक फिर्ता दिएपछि सो विषय सार्वजनिक भएको हो । बराललाई टेकु बोलाएर एसएसपी सिंहले भेटवालसँगै राखी अश्लील गालीगलौज र धम्की दिँदै तुरुन्त पैसा तिर्न निर्देशन दिएका थिए ।
बरालले भेटवालसँग आफ्ने कुनै पनि लेनदेन नै नभएको र यति ठूलो रकम तिर्ने मेरो हैसियत पनि होइन भन्दा एसएसपी सिंहले उल्टै तँलाई कुनै न कुनै बेला मुद्दा लगाएर फसाउँछु भन्दै धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।
असुलीको पराकाष्टा नाघेपछि…
काठमाडौं प्रहरी परिसरमा सादा पोशाकमा घुमुवा परिचालन गरी डिस्को, होटल, रेष्टुरेन्टदेखि जुवा अखाडाबाट पनि घुस असुली गरेको आरोप छ । काठमाडौंको प्रहरी प्रमुख पदलाई अशोक सिंहले कमाउधन्दाका लागि दुरुपयोग गरेको पराकाष्टा हराएको चेकमा समेत बराललाई दिएको सास्ती र भुक्तमानबाट प्रष्ट भएको छ । बराल त उजुरी गर्ने तहसम्म आए, तर सिंहको त्रासका कारण धेरै पीडितहरु सार्वजनिक रुपमा बोल्न सकेका छैनन् । काठमाडौंको प्रहरी प्रमुख बहाल हुँदै डीआइजीको दरबन्दी थपी बढुवा हुनका लागि माथि बुझाउनुपर्छ भन्दै उनले असुली अभियान चलाएका थिए ।
एसएसपी अशोक सिंह इन्स्पेक्टर हुँदादेखि नै असुलीमा बदनाम अधिकृत हुन् । इन्स्पेक्टर हुँदा सोह्रखुट्टको इन्चार्ज भएको समयमा उनले ठमेल क्षेत्रका रात्रिकालिन ब्यवसायीसँग घुस पनि लिने र थुन्ने पनि गरेका थिए । उनले त्यसबेला राम्रोसँग ब्यवसाय गर्नेलाई समेत दिनुसम्म दुःख दिई ब्यवसायबाटै पलायन हुन बाध्य बनाएका थिए ।
हुन्डीका डन तरुण खेम्कासँग एआइजी पाल र एसएसपी सिंहले ठूलो रकम घुस लिएर २ दिनमै उन्मुक्ति दिएका थिए । नेपालमा हुन्डी कारोबार गर्ने ठूला डन विमल पोद्दारपछि खेम्का नै हुन् ।
एसएसपी गिरीको अग्निपरीक्षा
हराएको खाली चेक भरेर चेक बाउन्सको उजुरी दर्ता गर्ने र उनले उक्त चेकमा उल्लेखित रकम कुन प्रयोजनमा लिए ? त्यसको खोजीनीति नगरी पीडितलाई बर्दीको आडमा धम्की दिने एसएसपी अशोक सिंहका कारण प्रहरीको छविमा दाग लाग्न पुगेको छ । सिंहको सरुवा भएपछि काठमाडौं प्रहरी परिसरको प्रमुखमा सुदीप गिरी आएका छन् । अपराध अनुसन्धानमा पोख्त र प्रहरीमा स्वच्छ छविका अधिकृतका रुपमा चिनिने गिरीले काठमाडौैं प्रहरीमा अशोक सिंहले बनाएको असुली सिन्डीकेटको जालो कसरी तोड्ने हुन्, विवादित छविका प्रहरीलाई कारबाहीको डन्डा चलाउने हुन् कि होइनन्, त्यो भने उनको काम गराईबाटै देखिनेछ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend