Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनालाई झुक्याउने ठेकेदार भन्सारको फन्दामा, नेपालमा उत्पादन गर्ने भनेर ठेक्का लिने, चीनबाट सामान ल्याउने


    बुधबार, पुष १४ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका लागि सामान आपूर्तिको ठेक्का पाएको जयसलिना र एडी सप्लायर्स जेभीले कीर्ते कार्य गरेको खुलेको छ । जयसलिना र एडी सप्लायर्स जेभीले नेपाली सेनाका लागि आवश्यक पर्ने चुस्ता(क्यामोफ्ल्याग) नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका थिए ।  नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका जयसलिना र एडी सप्लायर्सले सुटुक्क चीनबाट चुस्ता(क्यामोफ्ल्याग) आयात गरेपछि उनीहरुको कीर्ते कार्यको खुलासा भएको हो । चीनबाट आयात गरिएको २९ हजार मिटर चुस्ता(क्यामोफ्ल्याग)सोमबार तातोपानी भन्सारले रोकेर छानबिन गरेपछि सेनाका लागि ल्याएको खुलेको हो ।

    जयसलिना र एडी सप्लायर्सले उक्त चुस्ता नेपालकै बीरगंजमा रहेको कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का पाएका थिए । नेपाली उत्पादनलाई १० प्रतिशत बढी दरमा खरिद गर्ने नीति सरकारको छ । त्यही नीति अनुसार सेनाले चुस्ता(क्यामोफ्ल्याग)को उत्पादन गर्ने कोहिनुरको उत्पादनस्थलमै उपरथीको नेतृत्वमा ११ जनाको टोली पठाई उद्योग भिजिट गराएको थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक खरिद ऐनमै १० प्रतिशत सहुलियत दिने ब्यवस्था गरिएको छ । तर त्यसको दुरुपयोग जयसलिना र एडी सप्लायर्सले गरेका छन् ।

    चुस्ता उत्पादन गर्ने कोहिनुरको सहमति र टेक्सटाइलको उद्योग भिजिटपछि सेनाका उपरथी नेतृत्वको टोलीले नेपालमै उत्पादन हुने राय दिएपछि जयसलिना र एडी सप्लायर्र्सलाई ठेक्का दिएको थियो । करिब १५ करोड बराबरको उक्त ठेक्का पाएपछि जयसलिना र एडीले नेपालमा उत्पादन नगरी चीनमा उत्पादन गर्न दिए । र, चीनमा उत्पादन गरी नेपालमा ल्याउने क्रममा तातोपानी भन्सार कार्यालयले उक्त चुस्ताको बारेमा छानबिन सुरु गर्यो ।

     सेनाको चुस्ता भनेर जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडीका संचालक झम्कनाथ भट्टले छुटाउन पनि खोजे । तर तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले सेनाको पत्र पेश नगरेसम्म चुस्ता नछाड्ने अडान लिएपछि उनीहरुको डिजाइन असफल भएको छ । उक्त चुस्ताको क्यारिङ सतिदेवी इन्टरप्राइजेज गाेंगबुका संचालक इश्वर न्यौपानेले गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  

    अशोक अग्रवालको कोहिनुर टेक्सटाइलबाट उत्पादन गर्ने भनेर सेनाबाट ठेक्का लिने, तर चीनमा सामान उत्पादन गरी ल्याउने कीर्ते काम ठेकेदार बस्नेत र भट्टले गरेका छन् । तीन बर्षअघि नेपाल प्रहरीले कटन पाइन्ट र ऊलन सर्टको ठेक्का पाएको क्राउन टेक्सटाइलका संचालक पिताम्बर मुन्का र उनका म्यानेजर नरेन्द्रनाथ पौडेललाई गुणस्तर परीक्षणका त्रममा कीर्ते कार्य गरेको आरोपमा मुद्दा चलाएको थियो । मुन्का र पौडेल थुनामै परेका थिए ।

    गुणस्तर परीक्षणका क्रममा कीर्ते गर्ने मुन्का र पौडेलबिरुद्ध प्रहरीले मुद्दा चलाएको थियो भने सेनाबाट चुस्ता नेपालमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का लिएर चीनबाट उत्पादन गरी ल्याउने जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडी सप्लायर्सका झम्कनाथ भट्टबिरुद्ध पनि सेनाले एक्सन लिने संभावना छ । जय सलिना र एडी सप्लायर्सले नेपालमै उत्पादन गर्ने भनी चीनबाट पहिलो खेप ल्याएकै सामान भन्सारले जफत गर्ने भएको छ ।

    सेनाले त्यो चुस्ता आफ्नो भएको पत्र पठाउने संभावना क्षीण छ । किनकि टेण्डरमा नेपालमा उत्पादन गरिएको सामान उल्लेख भएकाले सेनाले चीनबाट ल्याएको सामान आफ्नो लागि हो भनेर पत्र लेख्न सक्ने संभावना कम छ । तातोपानी भन्सारले सामान रोकेपछि सेनाबाट पत्र लेखाउन जयसलिनाका बस्नेत र एडी सप्लायर्सका संचालक भट्ट शक्तिकेन्द्रमार्फत् सेनापतिदेखि खरिदका हाकिमलाई दबाब दिइरहेका छन् ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलसँग चुस्ता(क्यामोफ्ल्याग) तातोपानी भन्सार कार्यालयले रोकेकोबारेमा भने–‘धेरै सामानको टेण्डर भएको हुन्छ । नेपाली सेनाले ठेकेदारलाई जुन सामानको ठेक्का पाएको हो, पहिले नै आसयपत्रमै स्पष्टरुपमा उल्लेख गरेको हुन्छ । स्वदेशी उत्पादन माग गरिएको हो कि विदेशबाट ल्याउने हो, त्यो आसयपत्रमै उल्लेख हुने भएकाले यसबारेमा थप भनिरहनुपर्दैन ।’ पौडेलले स्वदेशी उत्पादनलाई सार्वजनिक खरिद ऐनले नै सहुलियत दिएको बताए ।

    एडी सप्लायर्सका संचालक झम्कनाथ भट्टले आफूलाई तातोपानी भन्सारमा चुस्ता(क्यामोफ्ल्याग) रोकिएकोबारेमा थाहा नभएको बताए । उनले भने–‘मैले सेनाबाट कुनै ठेक्का लिएको छैन ।’ जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेतले त्यो चुस्ता(क्यामोफ्ल्याग) आफ्नै भएको स्वीकार गरे । नेपालमै उत्पादन गर्ने भनर ठेक्का लिने तर चीनबाट ल्याउन पाइन्छ त भन्ने प्रश्नमा उनले भने–‘विस्तृत विवरण फोनमा भन्न मिल्दैन । त्यो चुस्ताको कुरा बाहिर आएजस्तो होइन ।’

    जयसलिना र एडी सप्लायर्सका संचालक बस्नेत र भट्टले नेपालमा उत्पादन गरिएको सामान भनी चीनमा उत्पादित सामान ल्याउने र त्यसमा पनि मूल्य अभिबृद्धि कर(भ्याट)समेत छल्ने नियत राखेका थिए । तातोपानी नाकामा नियन्त्रणमा लिएको चुस्ताकै करिब २ करोड ५० लाख भ्याट तिर्नुपर्नेमा नतिरी ल्याउने दाउमा बस्नेत र भट्ट थिए ।

    भन्सार प्रमुखको कदमले ठेकेदारको पोल खुल्यो

    tatopani.jpg

    सेनाकै लागि हो भन्ने आधिकारिक प्रमाण खुल्ने कागजात पेश गर्न नसकेपछि तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले भन्सार बिभाग र अर्थमन्त्रालयलाई जानकारी गराएका छन् । र, नेपाली सेनासँग पनि उक्त कम्ब्याटको बारेमा जानकारी मागेका छन् । तातोपानी भन्सारका प्रमुख भन्सार प्रशासक गौतमले भने–‘सेनाको लागि भनेर कम्ब्याटको कपडा ल्याएपछि त्यसबारेमा आवश्यक छानबिन गरिरहेका छौं । भन्सार विभाग, अर्थमन्त्रालय र सेनासँग पनि कम्ब्याटबारे जानकारी लिइरहेका छौं । कैफियत देखिएमा आवश्यक कारबाही हुनेछ ।’     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार