बाह्रबिसे, सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयले नेपाली सेनाको लागि भनी चीनबाट आयात गरिएको २९ हजार मिटर कम्ब्याट(चुस्ता) को कपडा आवश्यक जाँचबुझका लागि रोकेको छ । कोहिनुर टेक्सटायलले चीनबाट आयात गरिएको उक्त कपडा सोमबार तातोपानी भन्सारले छानबिनका लागि रोकेको छ । उक्त कपडा सेनाको लागि भनिए पनि आयात गर्ने कम्पनी अशोक टेक्सटाइलले आवश्यक कागजात पेश गर्नसकेको छैन ।
सेनाकै लागि हो भन्ने आधिकारिक प्रमाण खुल्ने कागजात पेश गर्न नसकेपछि तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले भन्सार बिभाग र अर्थमन्त्रालयलाई जानकारी गराएका छन् । र, नेपाली सेनासँग पनि उक्त कम्ब्याटको बारेमा जानकारी मागेका छन् । तातोपानी भन्सारका प्रमुख भन्सार प्रशासक गौतमले भने–‘सेनाको लागि भनेर कम्ब्याटको कपडा ल्याएपछि त्यसबारेमा आवश्यक छानबिन गरिरहेका छौं । भन्सार विभाग, अर्थमन्त्रालय र सेनासँग पनि कम्ब्याटबारे जानकारी लिइरहेका छौं । कैफियत देखिएमा आवश्यक कारबाही हुनेछ ।’
स्रोतका अनुसार नेपाली सेनाले कम्ब्याटको लागि गरेको बोलपत्रका क्रममा कोहिनुर टेक्सटाइलले नेपालकै उद्योगमा उत्पादित उत्पादन बुझाउने भनी कबोल गरेको थियो । नेपाली उत्पादनलाई प्रोत्साहित गर्नका लागि सेनाले केही प्रतिशत महंगो भए पनि खरिदलाई प्राथमिकता दिने गरेको छ । अशोक टेक्सटाइलले नेपाली सेनालाई नेपालमै उत्पादन गरिएको कम्ब्याट बुझाउने भनी सम्झौता गरेको स्रोतले बताएको छ । नेपालमै उत्पादित कम्ब्याटको कपडा बुझाउने भनेर सेनामा टेण्डर पाएको कोहिनुर टेक्सटाइलले चीनबाट आयात गरेपछि उक्त कम्पनी छानबिनको घेरामा पर्ने भएको छ ।
सेनाका लागि भनेर चीनबाट आयात गरिएको उक्त कपडामा २ करोडभन्दा बढी मूल्य अभिबृद्धिकर लाग्छ । त्यही भएकाले पनि कोहिनुर टेक्सटाइलले भन्सारका कर्मचारीलाई मिलाएर सुटुक्क ल्याउन खोजेको थियो । तर प्रमुख भन्सार प्रशासक गौतमले उक्त कपडाका बारेमा छानबिन र सोधीखोजी गरेपछि कोहिनुर टेक्सटाइलको सेनालाई झुक्याउने काइदा उजागर भएको छ ।