Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहरी खानेपानी आयोजनामा अवरोध गर्ने स्थानीयको चेतावनी


    मंगलबार, पुष १३ २०७८
    325
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • खोटाङ।सम्झौता पालना नभएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयले दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा अवरोध गर्ने घोषणा गरेका छन् । ४ माघ २०७६ मा दिक्तेल सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँग गरिएको १२ बुँदे सम्झौताको कुनै पनि बुँदा कार्यान्वयन नभएको भन्दै स्थानीयले मंगलबार पत्रकार सम्मेलन गरेर आयोजनाको बाँकी काम अघि बढाउन नदिने चेतावनी दिएका हुन् ।

    सोल्मामा ‘एक घर एक धारा’को व्यवस्थाका लागि निर्माणाधीन आयोजनाको १० प्रतिशत लागत रकमको डिपिआर तयार गरी योजना सञ्चालन गर्ने, सोल्मालाई विशेष संरक्षण वडा घोषणा गरी वडामा सिँचाई कुलो तथा पाइप सिँचाई लगायतका विशेष कार्यक्रम सञ्चालन गर्न नगरपालिकामा विशेष पहल गर्ने लगायतका सम्झौता कागजमै सीमित बनाइएकाले विरोधमा उत्रिनु परेको खानेपानी समन्वय समिति सोल्माका संयोजक धनीराम राई (नछुङ)ले बताए । 

    आगामी १५ दिनभित्र १२ बुँदे सम्झौता कार्यान्वयन नभए आइएलओ १६९ अनुसार पानीको मुहानसमेत बन्द गर्ने स्थानीयको चेतावनी छ । सोल्माको क्षेत्रभित्र पर्ने रम्बाखोला, माझखोला र काउले मुहान भएको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीयले सम्झौताको विषयलाई अघि सारेका हुन् । 

    सम्झौता अनुसार ‘एक घर एक धारा’को व्यवस्थाका लागि उपभोक्ता समिति गठन गरेर स्थानीय तयार भए पनि दिक्तेल सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ढाँट्ने काम गरेको स्थानीय रामकाजी राईले बताए ।

    १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको हो । 

    बढ्दो सहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो । कोभिड–१९ को महामारीका कारण आयोजनाको तेस्रोपल्ट म्याद थप गरिएको जनाइएको छ । 

    जनसंख्य वृद्धिका कारण एक/दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एवं मापदण्ड अनुसारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो ।

    आयोजनाबाट दैनिक प्रतिव्यक्ति ७५ लिटर पानी उपलब्ध गराउने लक्ष्य राखिएको रम्वा खोला–माझ खोला सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले बताए । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार