काठमाडौँ । कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो ।
सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको औपचारिकरुपमा घोषणा गरे । ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ ।
कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीप्ूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए । कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनको भनाइ थियो ।
‘कोभिड–१९ महामारीको दुवै लहरमा धेरैले आफन्त गुमाएका छन् । त्यस्ता परिवारका अरु थुप्रै समस्या छन् । आर्थिक अभावका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा त्यो पाउने वातावरण बने नागरिकको समाजमाथिको भरोसा बढ्छ’, थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघायो भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ ।’
डिशहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिए । ‘महामारी र अप्ठेरोका कारण आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकाको जिम्मा हामी लिन्छौँ’, आचार्यले भने । छात्रवृत्तिलाई डिशहोमको मात्र नभई नेपालीको साझा अभियान बनाइने उल्लेख गर्दै आचार्यले अभियानमा सघाउन सबैलाई अपिल गरे ।
अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्व अथाह भएको भन्दै महामारीका कारण कोही पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरुको रहेको बताए । राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षकलगायतको उत्पादन शिक्षाबाटै सम्भव भएकाले यसलाई राज्य र समाजले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । ‘टिच फर नेपाल’ की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीन कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे ।