Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुगललाई पछि पार्दै पहिलो बन्यो टिकटक


    आइतबार, पुष ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । गुगललाई जितेर टिकटक अब सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ। भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी ‘हिट’ पाउन थालेको छ, अर्थात् प्रयोगकर्ताहरू गुगलमा भन्दा धेरै टिकटकमा जान थालेका छन्।

    सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउडफ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको हो । इन्टरनेटका वेबसाइटहरूको नयाँ ‘वरियता सूची’ मा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो र त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थनमा रहँदै आएको छ।

    गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए। क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ‘ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ।

    टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको छ। मानिसहरू लकडाउनका बेला घरैमा बस्नुपर्ने अवस्थामा उनीहरूले मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा पनि धेरै जाने गरेको हुनसक्छ।

    यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ। बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।

    चीनमा देशको सेन्सरशीपसम्बन्धी नियमहरूको पालना गर्नेका लागि उक्त एप डोउयिन नामले चिनिन्छ र त्यो अर्कै नेटवर्कमा सञ्चालन हुन्छ । अन्तर्राष्ट्रिय रूपमा सफलता हासिल गर्न सकेको चीनको उक्त एक मात्र एपका बारेमा चीनबाहिर राजनीतिज्ञ र नियामक निकायहरूले त्यसप्रति सुरक्षा र गोपनीयतासम्बन्धी चिन्ताहरू व्यक्त गरेका छन्। बीबीसी नेपाली

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार