काठमाडौं । आज शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ। ८९ वर्षको उमेरमा जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आज शनिबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो। करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो ।
उनी पद्माकन्या क्याम्पसको संस्थापक हुन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन्। जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् ।जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।
जोशी २०१९ सालमा राजा महेन्द्रले गठन गरेको संविधान मस्यौदा समिति सदस्यसमेत थिइन् । चार सदस्यीय मस्यौदा समितिमा उनी एकमात्र महिला सदस्य थिइन् । संविधान मस्यौदा समितिको सदस्यसमेत रहेकी अंगुरबाबाले महिला संगठनको काठमाडौं सभापति बनेर ९ वर्ष काम गरेकी थिइन् ।