राजमान मिश्र, मदन केसी र केशव गौतम
काठमाडौं । नेपाल प्रहरीले आफैंले गुणस्तर फेल गरेको सामान अहिले खरिद गरेको छ । प्रबन्धका इन्स्पेक्टर केशवप्रसाद गौतम र भण्डारका डीएसपी मदन केसीले ठेकेदार राजमान मिश्र र वीरेन्द्र जोशीसँग बसेर सेटिङ गरी गुणस्तरहीन ऊलन पाइन्ट खरिद गरेका छन् ।
प्रहरी स्रोतका अनुसार गतबर्ष प्रहरीले गुणस्तरहीन भनेर फर्काएको १६ हजार मिटर हजार मिटर ऊलन पाइन्टको कपडा यो बर्ष प्रबन्धका इन्स्पेक्टर गौतम र भण्डारका डीएसपी केसीको सेटिङमा लिइएको छ । गतबर्ष प्रहरीले ठेकेदार राजमान मिश्रको ३० हजार ऊलन पाइन्टको कपडा गुणस्तरहीन भनेर खरिद नगरेपछि थन्किएको थियो ।
प्रहरीले मिश्रको जेबीडीएम कम्पनीले ऊलन पाइन्ट गुणस्तरहीन बुझाएपछि फर्कायो । र, जेबीडीएमलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेर पठायो । प्रहरीको पत्रका आधारमा जेबीडीएम कालोसूचीमा पर्यो । तर त्यो गुणस्तरहीन ३० हजार मिटर ऊलन पाइन्ट चालु आर्थिक बर्षको टेण्डर हुँदा खरिद गर्नेगरी सेटिङ मिलाउने काम प्रबन्धका इन्स्पेक्टर गौतमले गरेका छन् । ३० हजार मिटरमध्ये मिश्रले १४ हजार तालिम केन्द्रतिर मिलाएर सप्लाई गरिसकेका थिए । बाँकी १६ हजारमात्र थियो ।
स्रोतका अनुसार सर्वेन्द्र खनाल आइजीपी हुँदै गौतम र ठेकेदार बसेर मिश्रले नयाँ ठेक्काका लागि टेण्डर नहाल्ने र स्टोरमा थन्किएको जेबीडीएमको १६ हजार मिटर ऊलन पाइन्ट लिनुपर्ने सहमति गराइयो । ठेकेदार वीरेन्द्र जोशीको प्लस प्वाइन्ट ट्रेडिङ कम्पनीले यो बर्ष प्रहरीमा ३० हजार मिटर नै ऊलन पाइन्टको ठेक्का पाएको छ । उनकै कम्पनीले मिश्रको गुणस्तर फेल ऊलन कपडा प्रहरीमा आपूर्ति गर्नेगरी कुरा मिलाइयो ।
मिश्रको फेल भएकोमध्ये १६ हजार मिटर ऊलन कपडा जोशीले प्रहरीमा बुझाइसकेका छन् । बाँकी १४ हजार मिटर ऊलन पाइन्टको कपडा नयाँ किनेर अरु १६ हजार मिटर गतबर्ष फेल भएको हाली प्रहरीमा बुझाइसकेका छन् । र, त्यो ऊलन कपडा सहित ठेकेदारले बुझाएका लत्ताकपडा गुणस्तर परीक्षणका लागि भारतको इन्टरटेक प्रालिमा पठाउने तयारीमा प्रहरीको प्रबन्ध निर्देशनालय छ । भण्डारका डीएसपी केसीले गतबर्ष फेल भएकोमध्येका पोकाबाट परीक्षणमा नपठाउने गरी सेटिङ गरेर नयाँमध्येको पोका पठाउने तयारी गरिरहेका छन् । भण्डार शाखाका डीएसपी केसीलाई केशव गौतमकै डिजाइनमा बढुवा भएपछि पनि त्यहीँ पदस्थापन गरिएको थियो । उनी इन्स्पेक्टर हुँदा पनि भण्डारमै कार्यरत थिए ।
गुणस्तर टेष्टको क्रममा रहेको उक्त ऊलन कपडा गतबर्ष प्रहरीले नै गुणस्तरहीन भनेर रिजेक्ट गरेको हो भन्ने कुरा आइजीपी ठाकुरप्रसाद ज्ञवालीलाई त परै जाओस् प्रबन्धका डीआइजी सूर्य उपाध्यायलाई समेत पत्तो नै नभएको समाचार छ । यो चलखेलमा आर्थिक प्रशासन महाशाखाका एसएसपी पुरुषोत्तम कँडेललाई समेत गुमराहमा राखिएको छ ।