काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिंदै आफ्नो जन्ममिति २०१४/२/२ नै भएको बताएकी छन् ।
उनले सोमबार विज्ञप्ति जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको बताएकी छन् ।
न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनले बताएकी छन् ।
न्यायाधीश खड्काले विज्ञप्तिमा भनेकी छन्, ‘परिषद् आफैंले त्रुटि सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४/२/२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।’
न्याय परिषदमा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण रहेको भन्दै उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।’