काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जीवविक्रम राणा पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका छन । बोर्ड सञ्चालक समितिको बिहीवार बसेको बैठकले डा.राणालाई ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।
बोर्डको कार्यकारी निर्देशक छनौट सिफारिस समितिले डा.राणा सहित ४ जनाको नाम अन्तिम सूचीमा प्रकाशन गरेको थियो । अन्तिम सूचीमा छनौट भएका प्रतिस्पर्धीहरुलाई पछि पार्दै डा. राणा कार्यकारी निर्देशक नियुक्त हुन सफल भएका छन् । अर्वान वाटर डिमाण्ड इन काठमाडौं(केयुकेएल)मा राजस्थान इण्डियाबाट विद्यावारिधी गरेका डा.राणासँग खानेपानी तथा ढल निकास क्षेत्रको लामो अनुभव रहेको छ ।
काठमाडौं उपत्यकामा खानेपानी र ढल निकासका क्षेत्रमा थुप्रै चुनौतीहरु भएकाले यसको व्यवस्थापनका लागि आफूले कार्य गर्ने डा राणाले बताएका छन् । कोभिड महामारीकै समयमा कार्यकारी निर्देशकमा पुनः नियुक्त डा.राणाले आफ्नो पहिलो प्रथामिकता मेलम्ची आएपछिको सफल व्यवस्थापन ग्राउण्ड वाटर मेनेजमेन्ट रहेको प्रष्ट पारेका छन् । साथै आफूले पहिलो कार्यकालमा सुरु गरेका योजना तथा कार्यक्रमहरुलाई पूर्णता दिने बताए ।
खानेपानी तथा ढल निकासमा पूर्व सोभियत संघबाट एमएससी गरेका डा.राणाले अष्ट्रेलियाबाट एमआईबी र एमबीए समेत पूरा गरेका छन् ।