काठमाडौँ । नेपालमा स्थिर सरकार गठन भएपछि लगानीकर्ताहरु आकर्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न लगानी बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि २ खर्ब रुपैयाँ बराबरका परियोजना स्वीकृत गरेपछि नेपालमा लगानीकर्ताहरु आकर्षित भएको कुरालाई पुष्टी गरेको छ ।
शुक्रबार बसेको लगानी बोर्डको बैठकले रु. १ खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि रु. ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि रु् ६ अर्ब ३० करोड, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि रु १३ अर्ब ५७ करोड, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युतका लागि रु १० अर्ब ३१ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि रु २८ अर्ब ६ करोडबराबरको लगानी स्वीकृत गरेको हो ।
बोर्ड बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि रु ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि रु १५ अर्ब ५ करोड बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ ।