काठमाडौं । महानगरीय आयुक्त कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाललाई गृहमन्त्रालयले कारबाही गर्ने भएको छ । पालको निर्देशनमा महानगरीय प्रहरी कार्यालयले गएको कात्तिक ५ गते संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ३ भारतीय नागरिकलाई प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयलाई थाहा समेत नदिई सुट्ुक्क भारतलाई बुझाएको थियो ।
पालले सुटुक्क भारतमा सुपर्दगी गरिएका भारतीय नागरिकहरु मोहम्मद नुर, मोद रसाद र यासिर अरफतलाई भारतले केही दिनअघि इन्काउन्टरमा मारेको घटना सार्वजनिक भएको छ । यूएईबाट आएका ती कश्मिरीलाई एआइजी पालले महानगरीय कार्यालयबाट सादा पोशाकमा खटिएका डीएसपी नमराज भट्टराईलाई पठाएर पक्राउ गरेका थिए । पक्राउ गरेको केही समयमै उनीहरुलाई गोप्यरुपमा भारतीय नाका हुँदै सुनौलीमा गोप्यरुपमा सुपुर्दगी गरिएको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’को योजनामा एआइजी पालले उनीहरुलाई गोप्यरुपमा माथिल्ला निकायलाई थाहा नदिई गोप्यरुपमा बुझाएपछि सुनौली हुँदै भारतमा लगी इन्काउन्टरका नाममा मारिएको घटना सार्वजनिक भएको छ ।
एआइजी पाल नेपाल प्रहरीका दोस्रो बरियताका बिशिष्ट श्रेणीका अधिकारी हुन् । एआइजी तहका अधिकारीलाई ‘रअ’ ले कसरी परिचालन गर्छ भन्ने कुरा कात्तिक ५ गते यूएईबाट आएका ३ भारतीयलाई पक्राउ गरी कतै थाहा नदिई भारतीय सीमा नाका कटाउने कामबाट पनि स्पष्ट भएको छ । पालले ‘रअ’बाट कति रकम खाएर प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा पनि जानकारी नदिई ती ३ भारतीयलाई बुझाए ? यो बिषयमा गृहमन्त्रालयले गम्भीर डंगले अनुसन्धान गरिरहेको छ ।
नेपाल प्रहरीका डीआइजी बसन्तकुमार लामा नेतृत्वको छानबिन समितिले महानगरीय प्रहरी कार्यालयले विमानस्तलबाट पक्राउ परेका भारतीयलाई गोप्यरुपमा बुझाएको बिषयमा अनुसन्धान गरि प्रतिवदेन दिएको छ । गृहले त्यो प्रतिवेदन र आफ्नै छानबिनबाट पनि पालले एक स्वतन्त्र देशले पक्राउ गरेका विदेशी नागरिकलाई गोप्यरुपमा छाडेको बिषयलाई गम्भीर रुपमा लिएको छ । कात्तिक ५ गते पक्राउ परेका तीन भारतीयलाई गोप्यरुपमा छाडेको केही दिनमा पाल भारतमा गएका थिए । पक्राउ परेका भारतीय गोप्यरुपमा छाड्नु र उनी त्यसलगत्तै भारत जानु बाघ कराउनु र बाख्रा हराउने उखान जस्तै भनेर लिन नसकिने प्रहरी अधिकारी बताउँछन् ।
विमानस्थलबाट पक्राउ भारतीय नागरिकलाई गोप्यरुपमा छाडेको बिषयमा गृहमन्त्रालयले उनलाई कडा कारबाही गर्ने र त्यो निलम्बनकै तहसम्म हुने स्रोत बताउँछ । ंशंकास्पद गतिविधिमा संलग्न भए पनि ती भारतीय नागरिकलाई पक्राउ गरिसकेपछि पालले किन कतै पनि जानकारी नदिई गोप्यरुपमा बुझाए ? सार्वभौम मुलुक नेपालका एक कर्मचारी ‘रअ’को योजनामा चलेको स्पष्ट भएकाले पनि पालमाथि कारबाही गर्नैपर्ने दबाबमा गृहमन्त्री बालकृष्ण खाँणा छन् ।
भारतीयलाई पक्राउ गरी ‘रअ’को योजनामा भारतलाई गोप्यरुपमा बुझाएको बिषयमा गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि त्यस घटनाबाट ध्यान मोड्न एआइजी पालले कुमार पौडेल हत्या प्रकरणमा आफूलाई पक्राउ गर्न खोजिएको भनी सहानुभूति लिने प्रयास पनि गरे । तर उनले पैसाको लोभमा एक सार्वभौम मुलुककै अस्मितामाथि आँच आउने कार्य गरेकाले उनलाई उन्मुक्ति दिनु् नहुने पक्षमा गृहमन्त्री खाँण रहेको बताइन्छ ।
भारतीयलाई पक्राउ गरी ‘रअ’को योजनामा गोप्यरुपमा आर्थिक चलखेल गरी भारतलाई बुझाएको बिषयका कारण अप्ठेरोमा पर्ने र निलम्बनै हुने भएपछि पालले शक्तिकेन्द्रमा हारगुहार गर्न थालेका छन् । उनले ‘रअ’को नाम लिएर चलखेल गर्दैआएका राई स्कुलका संचालक कीर्ति पाण्डेलाई पनि यसमा उपयोग गर्दैआएका छन् । कीर्ति पाण्डेले ‘रअ’को नाम लिंदै नेपालका प्रहरी, प्रशासनमा आफ्नो दुनो सोझ्याउँदैआएका छन् । तिनै कीर्ति पाण्डे पाललाई जोगाउन शक्तिकेन्द्रमा धाउने गरेका छन् । अजित डोभललाई प्रयोग गरेरै भए पनि जोगाइदिने भन्दै उनले पाललाई थामथुम पारिरहेका छन् ।