Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार !


    बुधबार, पुष ७ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ ।

    हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो । महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

    यसअघिका स्थापना दिवसमा प्रधानन्यायाधीशलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिन्थ्यो । तर यसपालि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनको नेतृत्वमा भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै महान्यायाधिवक्ता कार्यालयले आमन्त्रण नगरेको बुझिएको छ । यद्यपि पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायलाई आमन्त्रण गरिएको छ । उनलाई सम्मान गर्ने तथा स्वागत मन्तव्यसमेत राख्ने कार्यक्रम छ ।

    महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताका अनुसार प्रधानन्यायाधीश विवादमा परेको, राजीनामा माग्दै आन्दोलन भइरहेको, जबरालाई कुनै पनि कार्यक्रममा सहभागी नगराउन बारबाट पत्र आएको र सत्ता गठबन्धनले नै निकास (राजीनामा) दिन भनेकाले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा आमन्त्रण नगरिएको हो ।

    प्रधानन्यायाधीश नबोलाइएको कार्यक्रममा आन्दोलनकारी कानुन व्यवसायी भने बोलाइएको छ । आन्दोलनमा रहेका बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई आमन्त्रण गरेर शुभकामना मन्तव्यका लागि पनि समय छुट्याइएको छ ।

    कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, पूर्वमहान्यायाधिवक्ताहरु, सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रहरी महानिरीक्षक, उपत्यकाका सरकारी वकिल तथा कर्मचारीलाई आमन्त्रण गरिएको छ ।  

    कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थापना दिवस विशेष बुलेटिन विमोचन तथा पुरस्कार वितरण गर्ने कार्यतालिका छ । देउवाले शुभकामना मन्तव्यसमेत राख्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार