Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक दिनको बाटो चार घण्टामा छोट्टियो


    बुधबार, पुष ७ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ।

    सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए। अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन्। बिरामीलाई अस्पताल पुर्‍याउन सहज भएको छ।  

    रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डाहुँदै कुइने जोड्ने सडक निर्माण भएको हो। ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको रघुगंगा गाउँपालिकाका सवइञ्जीनियर कमल चोखालले जानकारी दिए। यस वर्ष उपभोक्ता समितिमार्फत १ हजार ५०० मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ। ‘सडक स्तरोन्नतिको काम बाँकी छ’, उनले भने। बेनीबाट कुइनेसम्मको सडकको दूरी ४० किलोमिटर रहेको छ।  

    कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ८० लाख विनियोजन गरेको थियो । सडकमा पर्खाल, नालीलगायतका संरचना निर्माण गर्न बाँकी छ। गत आवमा गाउँपालिकाले ४५ लाख विनियोजन गरेको थियो। कुइनेसँगै रघुगङ्गाका आठ वटै वडाका सबै बस्तीमा सडक विस्तार भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार