Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्क लले माग्यो प्रधानन्यायाधीशको राजीनामा, न्यायिक नेतृत्व गर्न असफल भएको ठहर


    मंगलबार, पुष ६ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेको छ ।

    मंगलबार विज्ञप्ति जारी गरेर सार्क लले विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारको प्रयासमा प्रधानन्यायाधीश बाधक देखिएको भन्दै जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भएको उल्लेख गरेको छ ।

    ‘न्यायालयको साख, इज्जत प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्णरुपमा विमुख भएको, प्रधान न्यायाधीशमा न्यूनतम् पदीय जिम्मेवारी, आचरण र नैतिकता एवं कार्यक्षमतासमेत नदेखिएको, न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक तथा कार्य क्षमता, असल आचरण, व्यवहारको अभाव रहेकोले प्रधानन्यायाधीश जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भए,’ विज्ञप्तिमा भनिएको छ ।

    जबराप्रति नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, इमान्दार र स्वच्छ न्यायकर्मी, न्याय क्षेत्रका व्यक्तित्वसमेतको विश्वास टुटिसकेको सार्क लले उल्लेख गरेको छ ।

    ‘जबराको उपस्थितिमा न्यायालय तथा संवैधानिक परिषद्, न्याय परिषद् तथा न्यायसेवा आयोगले समेत काम गर्न नसक्ने अवस्था सिर्जना भएङ्को र संवैधानिक इजलास समेत सूचारु हुन नसक्ने अवस्था र परिस्थिति भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधानन्यायाधीश जबराको तत्काल बहिर्गमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायापालिकाको स्वतन्त्रता, स्वच्छ, निश्पक्षताका लागि उचित देखिन्छ ।’

    सार्क लले राजीनामा दिन नमानेका प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनसमेत दलहरुलाई अपिल गरेको छ । ‘प्रधानन्यायाधीशको बहिर्गगमनका निम्ति संवैधानिक दायित्व (महाभियोग) निर्वाह गर्न सर्वभौम जनताको प्रतिनिधित्व गर्ने संसद, राजनीतिक दल र सरोकारवालाहरु सबैलाई सार्क ल नेपाल हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार