काठमाडाैं । २१ महिने बालिकाको हत्या आरोपमा मोरङ प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-२ ४६ वर्षीय सैनी र उनकी पत्नी २५ वर्षीया संगीता उरावँ रहेका छन् ।
दम्पतीले स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरी र खाडल खनेर पुरेको आरोप दम्पतीलाई पक्राउ गरेको हाे ।
उनीहरू मृतकका नातामा फुपू-फुपाजु पर्दछन् ।
इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
२१ महिने बालिका युनिशा २६ मंसिरमा घरबाट हराएकी थिइन् ।
हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलभित्र उनको शव भेटिएको थियो ।
खाल्डोमा कपडा पनि भेटिएको थियो । कपडा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न आफन्त नै रहेको खुलेपछि उरावँ दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले बालिकालाई हत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।