काठमाडौं । डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वीर अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताल लाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित रु २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।
डाबर नेपालकाे अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताल, एक कार्यक्रमका बीच उक्त उपकरणहरू हस्तान्तरण गरेका थिए । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल– NAMS का निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, “वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।”