Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल एयरलाइन्सले दुवईबाट १ सय ४८ नेपाली काठमाडौंमा ल्याउँदै


    शुक्रबार, असार ५ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण संयुक्त अरब इमिरेट्स(यूएई)ले आज दोस्रो पटक १ सय ४८ नेपालीलाई काठमाडौंमा ल्याउँदैछ ।

    १ सय ४८ नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाडौंका लागि केही समयअघि उडेको हो । विमानमा १ सय १ महिला र ४७ जना पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी रहेको बताइएको छ । १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका छन् । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिक समेत रहेका छन् । आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान भेट्न यूएई पुगेकाहरु हुन् ।

    आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी छिन् ।

    दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।

    यसअघि यूएईकै शारजहाँबाट एयर अरेबियाको जहाजबाट १ सय ५७ नेपाली फर्किएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।

    यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुनेछ ।

    पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३–३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार