Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोपीडित डेढ वर्षदेखि टहरामै, सरकार आश्वासन मात्रै दिन्छ


    आइतबार, पुष ४ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका- ३ पल्लोटारीका पहिरापीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्।

    ७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो। ५४ घर उच्च जोखिममा परे। गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो।
    पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । डेढ वर्ष बित्यो। तर, पीडितको नयाँ घरमा बस्ने सपना अझै पूरा भएको छैन।

    पहिरोपीडित जमुना अधिकारीले भनिन्, ‘हिउँद बित्यो, बर्खा पनि बित्यो। नयाँ घर बनाउन एक साता अगाडिमात्र सम्झौता भएको छ । यो जाडो पनि टहरामै बित्ने भयो ।’

    सरकारका प्रतिनिधिका आश्वासनले पीडितले घरको जग खन्न सुरु गरे। कसैले डिपिसी ढलानसमेत गरे। तर, अनुदानका लागि सम्झौतासमेत नभएपछि पीडितहरू बर्खामा समेत त्रिपालमुनि बस्न बाध्य भए। मर्स्याङ्दी गाउँपालिका- ३ का वडाध्यक्ष प्रेम बस्नेतले पहिरोपीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भइसकेको बताए। देशविदेशबाट संकलन भएको चन्दा रकमबाट जग्गा व्यवस्थापन गरिएको उनको भनाइ छ।

    उनका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालू आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरोपीडितसँग घर पुनर्निर्माणका १८ वटा घर सूचीकृतमा परेकाे जानकारी दिए । घर बनाउन लाभग्राहीले चार लाख ५० हजार रुपैयाँका दरले पाउनेछन्। यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ। पुनर्निर्माणका लागि अनुदान व्यवस्थासहितको कार्यविधि स्वीकृत भएर आएकाले घर पुनर्निर्माण कार्य छिट्टै अघि बढ्ने अध्यक्ष गुरुङले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार