Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ कक्षा पास गरेका गौतम नागार्जुन नगरपालिकाका राजस्व प्रमुख ! अख्तियारले छानबिन कहिले गर्ने ?


    शुक्रबार, मंसिर ३ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नागार्जुन नगरपालिकाका राजस्व तथा विपत ब्यवस्थापन शाखा प्रमुख राजेन्द्रप्रसाद गौतमको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनको शैक्षिक योग्यता ८ कक्षामात्र पास भए पनि उनी स्नातक योग्यताको पदमा कार्यरत छन् ।

    नागार्जुन नगरपालिका घोषणा हुनुअघि उनी स्यूचाटार गाउँ विकास समितिका सचिव रहेका उनको योग्यता ८ कक्षामात्रै भएकाले छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७८ असार १५ मा उजुरी परेको छ । दर्ता नम्बर ०३६५८७ रहेको उजुरीमा उनको प्रमाणपत्र छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

    स्यूचाटार गाविसको सचिव हुँदासम्म गौतम एमालेका कार्यकर्ता थिए । हाल बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग उनको बाक्लो उठबस रहेको थियो । उनले स्यूचाटार गाविसको अध्यक्ष हुँदा सरकारी जग्गा समेत अतिक्रमण गर्नेगरी प्लटिङ र हाउजिङ अनुमति दिएकाले त्यसको पोल खुल्ने भएपछि हाल नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतसँग मिलेका छन् । बस्नेत नेपाली कांग्रेसबाट मेयर भएकाले गौतम पनि उनकै पार्टीका कट्टर कार्यकर्ता भए । कांग्रेसमा लागेकाले मेयर बस्नेतले उनको योग्यता ८ कक्षामात्र पास भए पनि नगरपालिकाको राजस्व प्रमुखको जिम्मेवारी दिएका छन् ।

    स्यूचाटारका धर्मराज गौतम र रमेशप्रसाद गौतमहरुले राजेन्द्र गौतमलाई कांग्रेसको सदस्यता दिलाएर नगरपालिकाका मेयर बस्नेतसँग घनिष्ट बनाइदिएका छन् । राजस्व प्रमुख बनाएपछि उनी नगरपालिकाको आन्तरिक आम्दानीमै घोटाला गरी कुस्त कमाउन तल्लीन छन् । नगरपालिकाको भ्रष्टाचारबाट आर्जित कमाइबाट उनले हालसालै स्यूचाटारमा बीसौं लाख लगानीमा मदिराको होलसोल पसल समेत खोलेका छन् । नगरपालिकाको राजस्वमा घोटाला गरी उनले २ वटा गाडीसमेत खरिद गरेका छन् ।

    ८ कक्षा पास गौतम स्यूचाटारको कंकालिनी माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष हुन् । ब्यवस्थापन समितिको अध्यक्ष हुनका लागि छोराछोरी अध्ययनरत हुनुपर्छ । अर्थात् अभिभावक हुनैपर्छ । तर उनका छोराछोरी उक्त सरकारी विद्यालयमा अध्यययन गर्दैनन् । उनी अभिभावक होइनन् ।  यसरी नियम कानुन बिपरीत उनी ब्यवस्थापन समितिका अध्यक्ष छन् । उक्त स्कुलका प्रधानाध्यापक बिष्णु पनेरु छन् । नगरपालिकामा एक दाताले एम्बुलेन्सका रुपमा संचालन गर्न दिएको गाडी पनेरुलाई दिएर स्कुलको अध्यक्ष भएका छन् ।

    उक्त स्कुलमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सीटीईभीटी)बाट ओभरसियरको पढाइ हुन्छ । ब्यवस्थापन समितिका अध्यक्ष नै ८ कक्षा पास भएको स्कुलको शैक्षिक गुणस्तर कसरी कायम हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।      

     शैक्षिक योग्यता ढाँटेर जागिर खाइरहेको र भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गर्दै उनका बिरुद्ध अख्तियारमा उजुरी परे पनि उनले आयोगमा समेत मिलाइसकेको भन्ने गरेका छन् । शैक्षिक योग्यता ८ कक्षामात्र हो भन्ने प्रश्नमा राजेन्द्र गौतमले भने–त्यस्तो होइन । राजस्व प्रमुखका लागि चाहिने आवश्यकता अनुसारको योग्यता मसँग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार