काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) पास गराउन दाैडधुप गरेका छन् ।
बुधबार नेपाल आएका लुले बिहीबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भने उनले केही बेरअघि मात्र सिंहदरबार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेका थिए ।
ओली र देउवासँग एमसीसी परियोजनाको बारे छलफल गरेका लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमसीसी बारे छिटो निर्णयमा पुग्न आग्रह गरेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले सम्झौताको समयसीमा सम्झाउँदै अध्यक्ष प्रचण्डलाई एमसीसी बारे छिटो निर्णयमा पुग्न आग्रह गरेका हुन् ।
अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको उनले बताए । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिएको मल्लले जानकारी दिए ।
‘सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुआती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले यो नेपालमा विवादको विषय बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् ।’
प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको बताए । ‘हामी सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्छौं, छलफल गर्छौं,’ उनले भने, ‘यो विषय संसदमा पनि जान सक्छ र हुन्छ कि हुँदैनको विषय बन्न सक्छ । दलहरुले यसमा आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्छ ।’