Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुलाहा कुकुरले टोक्दा दुई दिनमा १८ जना घाइते


    शुक्रबार, मंसिर ३ २०७८
    255
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।

    बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ ।

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।
    कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।

    घाइते हुनेमा वडा नं ४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना र २३ वर्षीय रविशना राना छन् ।

    यसैगरी, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय वीरेन्द्ररी राना, ९ वर्षीया लक्ष्मी राना र ६ वर्षीय जेनिस राना छन् ।

    घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको पीपलाडी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गौरे लुहारले जानकारी दिए । उनका अनुसार स्थानीय बासिन्दाले चार कुकुरलाई मारेका छन् ।

    वडाध्यक्ष ज्ञानबहादुर बिष्टले कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि पहल गर्न जानकारी गराइएको बताए । ‘पशु शाखालाई जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘वडा क्षेत्रमा छाडा कुकुर धेरै छन् । सबैलाई रेबिजविरुद्धको सुई लगाउनका लागि कार्य अगाडि बढाउन भनेको छु।’

    वडा नं ११ कलुवापुरका ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मन्जरी साउँद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र ५५ वर्षीय रामबहादुर ऐरलाई कुकुरले घाइते बनाएको छ । घाइते सबै जनाको सो अस्पतालमा उपचार भइरहेको छ ।

    कुकुरले बाटोमा हिँड्नेहरुलाई र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत डराएर हिँड्नुपर्ने अवस्था सृजना भएको छ ।

    विशेषगरी विद्यालय जाने बालबालिलाई विद्यालय पठाउनसमेत अभिभावक डराउन थालेका छन् । बहुलाहा कुकुर नियन्त्रण गर्नका लागि पशु शाखाबाट टोली परिचालन गरिने नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार