काठमाडौं । नेपाल प्रहरीले यस बर्ष टेण्डर गरेको २४ हजार ६ सय जोर डीएमएस बुटको गुणस्तर फेल भएपछि ठेकेदार कम्पनी मोर्डन सु इन्डष्ट्रिजका संचालक केशर प्रधान म्यादथप गर्ने दौडधूपमा छन् । प्रधानले डीएमएस बुट बुझाइसकेपछि गुणस्तर परीक्षणका लागि तिहारअघि भारत पठाइएको थियो ।
भारतबाट गुणस्तर रिपोर्ट फेल भएको आएपछि ठेकेदार प्रधान म्यादथप गर्न दौडधूपमा लागेका छन् । म्यादथप नभएमा उनको ६ करोड ५० लाख रुपैयाँ डुब्ने भएको छ । यति ठूलो रकम डुब्ने भएपछि मोर्डन सु इन्डष्ट्रिजका संचालक प्रधान र अर्का संचालक पुस्कर पराजुली म्यादथप गर्न गृहमन्त्रीदेखि नेताहरुकोमा धाइरहेका छन् । बुझाएका डीएमएस बुट करिब ५ करोड रुपैयाँ बराबरका हुन् । २५ लाख रुपैयाँ बैंक ग्यारेन्टी समेत उनको जफत हुन्छ ।
२० प्रतिशत एडभान्स लगिसकेका कारण त्यसको ब्याजसमेत ९७ लाख रुपैयाँसमेत तिर्नुपर्ने भएकाले प्रधान र पराजुली म्यादथप गर्नका लागि हारगुहार गरिरहेका छन् ।
मोहन बैद्यनिकट नेकपाका नेतासमेत रहेका प्रधानले माओवादी नेताहरु र पराजुलीले कांग्रेसका नेता प्रयोग गरिरहेका छन् । म्यादथप गराउन सके केही जोर गुणस्तरीय जुत्ता राखी अरु जुत्ता बुझाउन सकिने भएकाले ठेकेदारहरु हारगुहार गरिरहेका छन् ।