काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ।
दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले मुहान क्षेत्रमा क्षति पुर्याएपछि आयोजना अवरुद्ध बनेको हो।
बाढीपहिरोले मुहानमा पुर्याएको ठूलो क्षतिका कारण यस आयोजनाको भविष्यबारे अनेकौं अड्कलबाजी र धारणा सार्वजनिक भइरहेका बेला सरकारले विकल्प खोजेपछि यो तत्कालै मर्मत हुनेमा अन्योल सिर्जना भएको हो।
सरकारी अधिकारीहरू बाढीपहिरोबाट मेलम्ची आयोजनामा पुगेको क्षति र यसको पुनर्निर्माणको समयबारे खुलेर बोल्न चाहेको देखिँदैन। तर पछिल्ला दिनमा सरकारले स्थायी रूपमा मेलम्चीको पानी ल्याउनुको सट्टा २ विकल्प अघि सारेर काम थालेको छ।
दुई विकल्पमध्ये एउटा अस्थायी रूपमा हिउँदमा मात्र मेलम्चीबाट पानी ल्याउने छ। दोस्रो विकल्पमा काठमाडौं उपत्यकाका १० स्थानमा नयाँ बोरिङ खन्ने योजना छ।
तत्काल पुनर्निर्माणको सट्टा सरकारले नयाँ विकल्प अघि सारेपछि आयोजना छोटो समयमा बन्न सक्दैन कि भन्ने आशंका उत्पन्न भएको छ। यो समाचार नागरिक दैनिकमा छ।