तनहुँ । सशस्त्र प्रहरी बलको २३ नम्बर मनकामना गण भानु तनहुँका एसपी संजय भट्टराईले सिपाहीलाई बिदा छाडेर रासनबापतको रकम घुस लिने गरेको बिषय नेपालफेसले उजागर गरेपछि उनीमाथि छानबिन हुने भएको छ । सशस्त्र प्रहरी बिपत ब्यवस्थापन तालिम शिक्षालय एसएसपी अन्जनी पोखरेलको नेतृत्वमा मनकामना गणको गुणस्तरहीन खाना र सिपाहीलाई बिदा छाडेर रासनमा अनियमितता गरेको बिषयमा छानबिन समिति बनेको छ । एसएसपी पोखरेल आइतबारै छानबिनका लगि भानुमा गएका छन् ।
गण्डकी प्रदेशका डीआइजी शम्भु सुवेदीसमेत रासन काण्डमा मनकामना गणका एसपी संजय भट्टराईसँग मिलेको आशंकामा बिपत ब्यवस्थापन शिक्षालयका एसएसपी पोखरेललाई छानबिनका लागि पठाइएको छ । उनलाई गणको रासन प्रकरणमा छानबिन गर्न मुख्यालयबाट निर्देशन दिइएको छ ।
सशस्त्र मुख्यालयले चासो राखेर छानबिन गर्ने भएपछि एसपी भट्टरार्ईले गणबाट बिदामा पठाएका करिब २ सय प्रहरीलाई तत्काल हाजिर हुनका लागि शुक्रबारै फोन गर्दै बोलाएका छन् । सशस्त्र प्रहरीलाई बिदामा पठाएर रासनको पैसा मासिक १० लाख भन्दा बढी अनियमितता गर्दैआएका आरोप छ ।
सशस्त्र प्रहरीका हरेक गणमा जस्तै यहाँ पनि ६२५ दरबन्दी भए पनि २३ नम्बर गणमा भने ३ सय ३० जना जति मात्रै छन् । त्यसमध्ये पूर्वी नवलपरासीको चोरमारास्थित बेशमा निरीक्षकसहित १५ जना जाने गर्छन् । बाँकी करिव ८० जना जति गणमा राखेर बाँकी २ सय जना सधैं बिदामा छोड्ने गरिएको छ । पुग नपुग गणमा ८० जना भन्दा बढी कहिल्यै नहुने गणकै एक अधिकृतले बताए । उनले भने, यो गण मातहत कुनै बिओपी छैन । बेश चोरमारामा एउटा छ । बेशमा १५ जना हुन्छन्, त्यसमध्ये पनि निरीक्षकले १० जना राखेर पाँच जना बिदा छोड्छन र त्यसबापतको रकम पनि गणपति भट्टराईलाई मासिक रूपमा बुझाउनुपर्छ ।
गणभित्रको कुरा गर्ने हो भने दिनमा तीनवटा र रातिमा पाँच वटा पोष्ट छन् । पुरानो राशन बापतको रकमको हिसाब गर्दा पनि दुई सय जना बिदा छोड्दा मासिक १० लाख ८० हजार र अहिलेको थप समेतको हिसाबले मासिक न्यूनतम १४ लाख रूपैयाँसम्म मनकामना गणका गणपतिले सिपाही घर पठाएर खाने गरेको आरोप छ । यो तथ्य खुलासा भएपछि उनले हतार हतार बिदामा छाडिएकालाई बोलाएका छन् ।
सशस्त्रलाई बिदामा पठाएर मासिक लाखौं रुपैयाँ अनियमितता गर्दैआएका एसपी भट्टराईले खानासमेत अति कमसल खाना खुवाउने गरेको गुनासो कार्यरत तल्लोदर्जाका सिपाही हवल्दारले गर्दैआएका छन् ।