Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङको टुक्चे पिकमा हिमपहिरो


    आइतबार, कार्तिक २८ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खसेको छ । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खोँच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहेका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले भने ।

    उक्त खोँचमा अहिले हिउँको पहाड आएर अड्किएको र अहिलेसम्म घटनास्थलमा कोही पनि जान नसकेको उनले बताए । भोलि गएर वस्तुस्थितिबारे जानकारी लिने तयारी भएको पनि उनले बताए । तल्लो बस्तीबाट हिँडेर जान निक्कै समय लाग्ने जनाइएको छ । हिम पहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो तर अझै खस्ने क्रम भने नरोकिएको र माथि केही हिउँका पहाड फेरि पनि झर्ने होकी भन्ने चिन्तामा मानिस रहेको उनले जानकारी दिए ।

    उक्त टुक्चे पिकलाई स्थानीयले मानापाथि हिमाल पनि भन्ने गर्छन् । सानो र ठूलो हिमालसँगै रहेकाले ठूलोलाई पाथी र सानोलाई माना भनेर भन्ने गरिएको हो । उक्त हिमाल धौलागिरिको समिपमा दायाँतर्फ रहेको हिराचनले बताए। स्थानीय अहिलेसम्म उक्त क्षेत्रमा यस्तो कहिल्यै नबेहोरिएको बताउँछन् ।

    वडाध्याक्ष हिराचनका अनुसार खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनमा क्षति पुर्‍याएको छ । जोत्दाजोत्दै गोरु भागेका, मान्छे भागाभाग गरेका दृष्यहरू त्यसबेला देखिएको थियो । केही मान्छे ढुङ्गाको ओढार र च्यापमा लुकेर ज्यान जोगाएका थिए । पहिराबाट निस्किएको धुलोसहितको हावाले भने बस्तीसम्मै असर गरेको थियो । सुशीला गौचनका चौरी गोठाले लालबहादुर गुरुङ चौरीलाई नुन खुवाउन गएका थिए । उक्त गोठलगायत अन्यका गोठ र रासन पानी पनि सबै उडाएको र केही चौरी परेको भन्ने खबर आएको पनि वडाध्यक्ष हिराचनले सुनाए ।

    तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह माध्यामिक विद्यालय थियो । विद्यालयका प्रअ खेम गुरुङ बाहिर चौरमा बस्दा हिउँ खसिरहेको देखेपछि शिक्षक र विद्यार्थी सबैलाई सुरक्षित ठाउँमा पठाइएको थियो । सो क्रममा भागदौड हुँदा केही घाइते भएका जनाइएको छ । उक्त स्कुलमा १६० विद्यार्थी थिए । हिउँ खसेको नजिक भीमप्रसाद थकाली, सुरेन्द्र गौतम, रमेश मगर, राजेन्द्र तुलाचन, महेन्द्र शेरचन, श्याम तामाङको चौरी गोठ थियो । त्यस क्षेत्रमा ३५० चौँरी गाई थिए । त्यसमध्ये कतिपय हिउँ पहिरोमा परेको भन्ने जानकारी आएको तर पुष्टि नभएको पनि हिराचनले बताए ।

    उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । रुखहरु ढालेको छ, घरहरूका छाना उडाएको छ । हिमाल मुनी ठूलो खोँच रहेकाले त्यहाँ हिउँ खसेको र त्यसबाट बेगको हावाले धुलोलगायत अन्य चिजवस्तु उडाएकाले केहीका घरका छाना र केहीका घर नै उडाएको उनको भनाइ छ । उनका अनुसार गाउँमा धुलोले आँखै नदेखिने अबस्था भएको थियो ।

    खोचमा बोक्सी र लाङक्यू खोला रहेको छ । खसेको हिउँ दुवै खोलाबाट बाँडिएर झरेकाले क्षति कम गर्न सहयोग पुगेको जनाइएको छ । वडाध्यक्ष हिराचनले भने, “एउटै खोलामा आएको भए ठूलो क्षति हुन सक्थ्यो तर त्यसो हुन पाएन, अहिले दुवै खोलाबाट धमिलो पानी बगिररहेको छ, माथिबाट हिउँका डल्ला खसिरहेको छ ।”

    उनका अनुसार खोँच नभएको भए र दुवै खोलामा नबाँडिएको भए त्यहाँको तल्लो तटीय क्षेत्रमा रहेको नाउरीकोट, लाजिङ ,गोवाङ, बोक्सीखोला आसपास बस्तीका १०० घरमा क्षति पुर्‍याउन सक्ने थियो । त्यहाँ झण्डै ७०० जनसङ्ख्या छ । डर त्रासका कारण अहिलेसम्म कोही जान नसकेको पनि उनले सुनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार