काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत बाहेकका देशबाट उद्दार गर्नुपर्ने नेपालीको सूची तयार गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र लकडाउनका कारण भारत बाहेक विदेशमा अप्ठ्यारोमा परेका नेपालीको सूची मन्त्रालयले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सोमबार बुझाएका विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।
मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।
मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।