काठमाडाैं । देश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो । बैठकको मिति मात्रै सरेन, आचार्यको कार्यकाल एक साता लम्बिएको थियो । तर विश्वासको मत लिने मिति पर सरेसँगै एमाले नेतृत्वको सरकारको आयु अझै लम्बिने सम्भावना पनि बढेकोसमेत अनुमान गर्न थालिएको छ । कारण हो, विपक्षी गठबन्धनमा रहेको नेपाली कांग्रेसले सरकारको नेतृत्व आलोपालो गरिनुपर्ने माग । कांग्रेसले प्रदेश १ सरकारको नेतृत्वमा समेत आधाआधा कार्यकाल हुनुपर्ने माग अघि सारेपछि विपक्षी गठबन्धनको एकतामा पनि धेरैले प्रश्न उठाएका छन् ।
तर प्रदेश १ का भावी मुख्यमन्त्री भनेर अगाडि सारिएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने आफू नै मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । उनले १५ कात्तिकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने र आफू मुख्यमन्त्री बन्ने भन्दै कामको योजनासमेत न्युज कारखानासँग सुनाएका छन् । उनै राईसँग गरिएको कुराकानी :
मख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी कांग्रेसले नेतृत्वको कार्यकाल आधा आधा हुनुपर्ने माग अघि सारेको छ, अब के हुन्छ ?
आलोपालो गर्ने कि एक्लैले पूरै कार्यकाल मुख्यमन्त्री चलाउने भन्ने निर्णय प्रदेश १ का नेताहरू बसेर टुंगो लगाउने कुरा होइन । यसको निर्णय केन्द्रका नेताहरूले गर्नुपर्ने हुन्छ । प्रदेश १ मा समाजवादी र कांग्रेसले नेतृत्व आलोपालो गर्दा अन्य प्रदेशमा पनि असर पर्न जान्छ । यसैले प्रदेश १ मा आलोपालोको सम्भब छैन । यस सन्दर्भमा फेरि केन्द्रले छलफल गरेर टुंगो लगाउला । यसैले अहिले कांग्रेसले भने जस्तो सरकारको नेतृत्व आलोपालो गर्न सकिन्छ भन्ने अवस्था रहेन । उहाँहरूले यस विषयमा आन्तरिक कुरा उठाउनु भएको छ । यो कुराले गठबन्धनमा कुनै असर पर्दैन । उहाँहरूले गठबन्धनको बैठकमा पनि यो विषय राख्नुभएको हो । तर यहाँ मात्रै कुरा गरेर यो विषय टुंगोमा पुग्दैन भन्नेमा नेताहरू पनि कन्भिन्स हुनु भएको छ ।
१५ कात्तिकपछि प्रदेश १ को मुख्यमन्त्री तपाई नै हो ?
१५ कात्तिकमा मतदान हुन्छ । १६ गते प्रदेश प्रमुखसमक्ष माग गर्ने हो । सोही दिन छिटोछरितो हिसाबले काम भए मुख्यमन्त्री चयन हुन्छ । प्रदेश प्रमुखले दुई तीन दिन होल्ड गरे पनि धेरै दिन यो सरकारलाई टिकाउन सक्नु हुन्न । संविधानले दिएको अधिकार प्रयोग गरेर मिति गुजार्न सक्नु हुन्छ । त्यो भन्दा बढी उहाँले केही गर्न सक्नु हुन्न । सभामुखले भने केही बहानाबाजी गरेर सार्न सक्नु हुन्छ ।
सभामुखप्रति किन यति धेरै आक्रामक हुनुभएको ?
संविधानले विश्वासको मत गुमाएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर सभामुखले कसैको पार्टीको काम प¥यो भनेर, आन्तरिक बैठक पर्यो भनेर विश्वसको मत लिने मिति सारेर संविधान मिच्न हुँदैन थियो नि ? पार्टीको आन्तरिक कार्यक्रम त कति हुन्छ हुन्छ ? साधारण विधेयक थियो भने सोच्न सक्ने अवस्था हुन्थ्यो । संविधान नै मिच्ने गरी काम गर्नै हुँदैन थियो । तर उहाँले गरिरहनुभएको छ । अझै पनि उहाँमाथि शंका गर्ने ठाउँ छ । पटकपटक संविधान मिचेकाले फेरि पनि केही गर्नु हुन्छ कि भन्ने शंका गरेको हो ।
गठबन्धन दलमै मुख्यमन्त्री को बन्ने भन्ने फाइनल भएको हो ?
माथि पनि भएको हो, तल पनि भएकै हो । कांग्रेसका साथीहरूको भनाइ आलोपालोको सबैतिर छलफल हुने, कांग्रेसले दाबी गर्ने, तर प्रदेश १ मा किन नगर्ने ? भन्ने छ । प्रदेश १ मा अर्को पक्षको दलको नेता भएका कारण पूर्वाग्रह राखेर यहाँ छलफल नै नगर्ने ? भन्ने उहाँहरूको भनाइ हो । उहाँहरूले बैठकमा मागदाबीको रूपमा भन्दा पनि गुनासोको रूपमा राख्नुभएको छ । यस विषयमा हामी मात्रै बसेर हुँदैन भन्नेमा उहाँहरू स्पष्ट हुनुहुन्छ । यो कुरा माथि नै टुंगो लगाउनुपर्छ । आलोपालोको कुरा गर्ने भने पनि केन्द्रमै सहमति हुनुपर्छ ।
मुख्यमन्त्री बनेपछि यो काम गर्छु भन्ने योजना बनाउनु भएको छ ?
प्रमुख योजना प्रदेशको नामाकरण हो । सबैले चाहेको विषय पनि यही हो । यो मेरो पहिलो योजना हो । दोस्रो, सीमित बजेटको सही परिचालन भएन । चुहावट बढी हुने र पक्षपातपूर्ण ढंगले बजेट विनियोजन हुने र प्राथमिकता सही ढंगले छनोट नहुने कमजोरी रोक्ने भन्ने छ । शान्ति सुरक्षा कायम गरिने छ । प्रदेश १ को आन्तरिक बजेटको दायरा बढाउन लाग्नेछु । कतिपय वैदेशिक सम्पर्कद्वारा अनुदान ल्याउने, केन्द्रबाट अनुदान र ऋण सापटी लिएर भए पनि बजेटको दायरा बढाउने प्रयास रहने छ ।
यी सबै काम गर्न चुनौती धेरै छ भन्ने लागेको छैन ?
चुनौती त स्वाभाविक रूपमा छ नि । किनभने विपक्षीमा रहने साथीहरू सकारात्मक छैनन् । केन्द्रमा सभामुखको राजीनामा माग्ने, बिना कारण संसद् अवरुद्ध गर्ने भूमिका रहेकाले तल पनि यहीअनुसारको निर्देशा आउँदा समस्या हुन सक्छ । प्रदेशको नाम दुई तिहाइले मात्रै पास गर्ने भन्ने छ । एमालेको सहमतिविना दुई तिहाइ पुग्दैन । त्यो एउटा पाटो छ । अर्को सानो बजेट छ । योजना धेरै छानिएको छ । प्राथमिकता नदिनुपर्ने ठाउँमा योजना छानिएको छ । यस्ता विषयले बानी पारिएको छ । चुहावटका लागि बानी पारियो, पल्काइयो । यो कुराको पनि सामना गर्नुपर्ने छ ।
तपाईहरू एमाले सरकारविरुद्ध गठबन्धन बनाएर नयाँ सरकार बनाउन खोज्दै हुनुहुन्छ । भोलि एमाले पनि गठबन्धन बनाएर अगाडि बढ्न सक्ला नि ?
पाँचदलीय गठबन्धन भत्किँदैन । यो सत्ता साझेदारी होइन । विषय र राष्ट्रिय परिस्थितिले निर्माण गरेको गठबन्धन भएकाले सजिलै भत्किँदैन । धेरै दलबीच गठबन्धन भएकाले हरेक राजनीतिक दलका आ-आफ्ना प्राथमिकता छन् । फरक फरक मान्यता छन् । भोलि योजना निर्माण र बजेट बाँडफाँटमा पनि समस्या होला । सन्तुलन मिलाएर, सबैलाई चित्त बुझाएर चलाउनुपर्ने हुँदा अलिकति गाह्रो हुन्छ । एउटै दलको हुँदा एउटा निर्देशनबाट सबै सांसद चल्छन् । मुख्यमन्त्री संयन्त्रबाट सञ्चालन गर्नुपर्ने हुनाले चुनौती र समस्या छन् ।
मन्त्रालय भागबन्डामा पनि समस्या आउला नि, जसरी केन्द्रमा देखियो ?
माथि (केन्द्र)को कुरा अर्कै हो । त्यहाँ दुईवटा कुराले ढिलाइ भएको हो । सांसदको पद खारेजीको मुद्दाले केही समस्या भयो । अध्यादेशको विषयले पनि ढिलाइ भएको हो । तल त्यो खाले समस्या यहाँ छैन । अब गठबन्धन भएकाले धेरै पार्टीको सहभागिता छ । धेरै पार्टीको सहभागिता हुनेवित्तिकै मन्त्री बन्ने आकांक्षी धेरै हुन्छन् । त्यस्तो अवस्थामा छलफल गरेर कसरी चित्त बुझाउने भन्ने बाटोमा जाँदा केही समय लाग्छ । तर पनि माथिको जस्तो धेरै समय लाग्दैन ।
तर मन्त्री दिन्छु भन्दा पार्टी छाडेको देखियो नि ?
त्यस्तो त हुने सम्भावना कमै छ । हिजो एमालेमा हुँदा पार्टी नै विभाजन गर्नुपर्ने भएकाले सरसल्लाह गर्नुपरेको थियो । अब स्थिरता हुन्छ । सबै सांसदहरू एउटा एउटा पार्टीमा सेटल भएकाले एउटालाई क्रस गरेर अर्कोमा जाने सम्भावना म देख्दिनँ । हिजो सनाखतको बेलादेखि नै सांसदहरूलाई पैसा र पदको कुरा गरियो । यो सरकारले अहिले पनि पटकपटक विश्वासको मत लिने समय गुजार्दै सबै दलका सांसदलाई प्रलोभन बाँडिरहेको छ । फकाउने, पैसा, पद र भविष्यको लोभलालच दिइरहेको छ । तर अब पार लाग्दैन ।
विभिन्न अप्ठेरोका बाबजुद पनि अब बन्ने सरकार पूर्ण समय चल्छ । मेरै कार्यकालमा निर्वाचन हुन्छ । अहिलेको औसत, देशैभरिको प्रदेश सरकारको संख्या हेर्दा र गठबन्धनको उपस्थिति हेर्दा ११ देखि १३ जनासम्मको मन्त्रिपरिषद् बन्ने सम्भावना छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend