Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै


    बुधबार, कार्तिक १० २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर। अल्पमतमा परेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । 

    प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका अनुसार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारी छ ।

    प्रदेशसभामा रहेका १०९ सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् । 

    मुख्यमन्त्री शाक्यलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उनले राजीनामा दिन लागेकी हुन् । 

    शाक्य गत २ भदौमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेको दुई महिनापछि उनकाे पद धरापमा परेकाे हाे । उनले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि गत ४ कात्तिककाे प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो । तर आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिन लागेकी हुन् । 

    बाग्मतीमा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा)का एक जना सांसद छन् । 

    गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चार जना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ । न्युज कारखाना 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार