Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीमा नेपालकै कानुन लागू हुन्छ, जस्ताकाे त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा


    शुक्रबार, कार्तिक ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

    बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।

    ‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्ताे हाेइन, एमसीसी नेपालको हितमा छ, नि:शर्त पास गर्नुपर्दछ ।’

    ५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

    तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा हुन्छ : देउवा

    प्रधानमन्त्री देउवाले बमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बाढीपहिरोले ठूलो धनजनको क्षति भएको बताए । उनले सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने बताए ।

    संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज  शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढीपहिरोका कारण एक सय भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ । 

    सुदूरपश्चिम सरकार के हुन्छ ?

    सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका छन् ।

    शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए ।

    बिहीबार मात्र बागमती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो ।

    सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सभामा माओवादी दोस्रो दल हो ।

    तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् । एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् ।

    सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० सांसद छन् । यसैगरी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका  १-१ सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार