गण्डकी ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए ।
पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उनले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताए ।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गरेकाे र उनले पार्टीबाट लिनेभन्दा पनि दिने काम गरेकाे भन्दै सभापति देउवाले आचार्यकोे योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राखे ।
पोखरा पर्यटनको राजधानी भएको बताउँदै उनले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताए । कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उनले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताए । कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए ।