Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक हप्ताभित्र सरकारमा सहभागी हुँदै एकीकृत समाजवादी


    आइतबार, असोज ३ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ ।

    संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उहाँले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिनुभयो ।

    अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहो¥याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।”

    अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।”

    प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताउनुभयो ।

    प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उहाँले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताउनुभयो । “संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ”, अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार