Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा समाजवादी सरकारमा सहभागी, सुदूरपश्चिममा तामाङ र बोहराले लिए मन्त्रीको शपथ


    शुक्रबार, असोज १ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

    आज (शुक्रवार) मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का सांसद तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ (बोहरा) लाई नियुक्त गरेका छन् ।

    नव नियुक्त आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ र राज्यमन्त्री माया तामाङ (बोहरा) ले शुक्रवार बेलुका नै पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।

    नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै बस्ने निर्णय गर्दै भदौ २२ गते राजीनामा दिएका थिए ।

    आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त रहेपछि अपूर्ण रहेको प्रदेश सरकारको मन्त्रिमण्डललाई मुख्यमन्त्री भट्टले झण्डै १० दिनपछि पूर्णता दिएका हुन् । 

    तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए । तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत उनले सम्हालिसकेका थिए ।

    यस्तै राज्यमन्त्री नियुक्त भएकी माया तामाङ (बोहरा) बझाङकी सांसद हुन् । तत्कालीन नेकपामा देखिएको धुव्रीकरणमा उनी ओली समूहमा थिइन् ।

    गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक उनी पनि थिइन् । तर एमालेको विभाजनमा बोहराले ओली समूह छोडेर एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् । एकीकृत समाजवादी पार्टीलाई प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बनाउन बोहराले भूमिका खेलेकी थिइन् ।

    यो सँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ११ जना मन्त्री पुगेका छन् । एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

    यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन् । उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनिता देवी चौधरी मन्त्री तथा मान बहादुर सुनार राज्यमन्त्री र मानबहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार