Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्: संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ, तयार रहनु


    बुधबार, भाद्र ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

    आज  पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बाेल्दै प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताउँदै जरुरी पर्‍यो भने आफूहरु सडकमा जाने बताएका हुन् ।

    उनले  माथिल्लो तहका नेताहरु बिग्रिए आराेप लगाउँदै जनता र कार्यकर्ताहरुलाई  क्रान्तिकारी आन्दोलनका लागि तयार रहन समेत आग्रह गरे  ।

    ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

    प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं,’ उनले भने, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

    युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताए । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

    सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार