काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिंदै कनिष्ट सचिव मधु मरासिनीलाई अर्थमन्त्रालयमा ल्याएका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय अन्तर्गतका दुई विभागको महानिर्देशक छनोटमा पनि सही पात्र चयन गर्न सकेनन् । अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेल र भन्सार विभागको महानिर्देशकको जिम्मा नारायण सापकोटालाई दिएका छन् । बिहीबार पौडेल र सापकोटालाई आन्तरिक राजस्व र भन्सारको महानिर्देशकको जिम्मेवारी दिइएको छ । पौडेल बहुचर्चित एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा ठूला करदाता कार्यालयका प्रमुख थिए ।
सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रम्ुख हुुँदा ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करी भएको थियो । जसमा भन्सारका अधिकृतदेखि प्रहरीका एसएसपीसम्म कारबाहीमा परेका थिए ।
२१ पुस, २०७३ मा दुबईबाट आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थलबाहिर बरामद गरेको थियो । त्यो समयमा सापकोटा विमानस्थल भन्सारका प्रमुख थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दिनबन्धु थापा र सन्तोष काफ्लेका अलवा काभ्रेको पनौतीबाट रामहरि कार्की सहित अन्य एकलाई पक्राउ गरेको थियो । उक्त सुन रोशन भन्ने गुप्तलाल भूसाल र हरिशरण कार्कीको भएको खुलेको थियो ।
पक्राउ परेकाहरुको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकालको सेटिङमा सुन तस्करी हुँदैआएको थियो । १३ बर्षदेखि कार्यरत अधिकृत यादव र राजकुमार ढकालले नै सुन तस्करी गराउँदैआएका थिए । ढकाल करारका कर्मचारी थिए । सुनकाण्डमा तथ्यांक अधिकृत र करारका कर्मचारीमात्र कारबाहीको भागिदार भए, तर भन्सार प्रमुख सापकोटालाई भने उन्मुक्ति दिइएको थियो । सानालाई ऐन, ठूलालाई चैन भन्ने उक्ति चरितार्थ गर्दैै उन्मुक्ति दिइएका तिनै सापकोटालाई अर्थमन्त्री शर्माले भन्सार विभागको महानिर्देशक बनाएका छन् ।
एनसेलको लाभकर छलीकाण्डमा पौडेल
एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् सहसचिव पौडेल । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने शर्मा र पौडेल नै भएको आरोप लागेको थियो । चुडामणि शर्माबिरुद्ध अख्तियारले कर फछ्र्योट आयोगको अध्यक्ष हुँदा कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा गएको असार ९ मा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो । ठूला करदाता कार्यालयको प्रमुखका रुपमा पौडेलको भूमिका एनसेलबाट लाभकर असुलीतिर भन्दा लाभ लिनेमै केन्द्रित रहेको थियो । एनसेल खरिद बिक्री हुँदा २०७२ मा ठूला करदाता कार्यालयका प्रमुख थिए शोभाकान्त पौडेल । २०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए ।
१ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो । लाभकर बिक्री गर्ने कम्पनीले तिर्ने हो, बिक्री गर्ने कम्पनी देशबाट बाहिरिसकेपछि पौडेलले पत्र काटेर असुली गर्ने हास्यास्पद काम गरेका थिए । टेलियासोनेराले सेयर बिक्रीबापत सबै रकम लिएको भोलिपल्ट ठूला करदाता कार्यालयले ‘आयकर ऐन २०५८ को दफा ९५ ‘क’ बमोजिम अग्रिम कर असुल गरी दाखिला गर्न’ एनसेललाई चिठी पठाएको थियो ।
ठूला करदाता कार्यालयले जुन पत्र सेयर किनबेच प्रक्रिया टुंगिसकेपछि पठाएको थियो, त्यो एक साताअघि मात्र पठाएको भए स्थिति अर्कै हुनसक्थ्यो । किनबेच नटुंगिँदै अग्रिम करसम्बन्धी चिठी पाएको भए त्यसको समाधान नखोजी टेलियासोनेराले उन्मुक्ति पाउने थिएन । तर चुडामणि शर्मा र शोभाकान्त पौडेलले टेलियासोनेरालाई भाग्ने अवसर दिएर त्यसपछि मात्र पत्र काटेका थिए । यी तथ्यले एनसेलको लाभकर छलीमा पौडेलको संलग्नता छैन भन्न कसैले पनि सक्दैन ।