काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रबन्धका एसएसपी दीपेन्द्र शाहले नियम विपरीत आफैंले चुस्ताको स्पेक परिवर्तन गरेका छन् ।
स्पेक परिर्वतनका लागि एआइजीको संयोजकत्वमा सरकारी टेक्सटाइल इन्जीनीयरसहितको समिति बनाउनुपर्छ । उक्त समितिले स्पेक परिवर्तन गर्न आवश्यक भएको रायसहितको प्रतिवेदन दिएपछि मात्र हुन्छ । तर सशस्त्रमा भने प्रबन्धका एसएसपी शाह र आइजीपी खनालको योजनामा चुस्ताको स्पेक परिवर्तन गरिएको छ । आइजीपी खनालसँग निकट ठेकेदारहरुको अनुकूल हुनेगरी चुस्तामा स्पेक परिवर्तन गरिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।
यसअघि कटन ६५ प्रतिशत र नाइलन ३५ प्रतिशत हुनुपर्ने चुस्तामा अब स्पेक परिवर्तन गरी कटन ५५ प्रतिशत, पोलिस्टर ३५ प्रतिशत र भिस्को १० प्रतिशत हुने भएको छ ।
समिति नै नबनाई आईजीपी खनाल र एसएसपी शाहले आफैंले स्पेक परिवर्तन गरेको बिषयमा सरोकारवाला निकायले छानबिन गर्नुपर्ने सशस्त्रका अधिकारी बताउँछन् ।
ठेकेदारले जुन नमुना देखाए त्यही नमुनाअनुसारको स्पेक परिवर्तन आईजीपी खनाल र एसएसपी शाहले गरेका छन् । खनालनिकट ठेकेदारहरुको सेटिङअनुसार चुस्ताको स्पेक परिवर्तन गरिएको छ ।
आगामी २०७८ चैत २५ मा अवकाश हुने आईजीपी खनालले स्पेक परिवर्तन गरेर ६७ हजार सेट चुस्ता खरिदको लागि टेण्डर निकालेका छन् । सशस्त्रको जनशक्ति ३७ हजार छ । तर उनले ६७ हजार सेट चुस्ता खरिदका लागि टेण्डर निकालेका छन् । उनले अवकाश हुने बेलामा सशस्त्र प्रहरीका लागि २ सेट चुस्ता खरिद गरेर घुस कुम्ल्याएर जाने भएका छन् ।
६७ हजार सेट चुस्ताको करिब १६ करोड पर्ने सशस्त्र स्रोत बताउँछ । चुस्ताको बजेट नै करिब १६ करोड रहेको छ । जाँदाजाँदै आईजीपी खनालले अर्काे आर्थिक वर्षको चुस्तासमेत खरिद गरी २० देखि २५ प्रतिशत कमिसन खाने दाउ अन्तर्गत टेण्डर निकालेका छन् ।