काठमाडौं । सेन्चुरी कर्मसियल बैंकमा आर्थिक हिनामिना भएको छ । बैंकको आर्थिक हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्ष र सञ्चालकको नै मिलेमतो रहेको पाइएको हो । पाँच लाख ८२ हजार दुई सय ६५ अमेरिकी डलर हिनामिना भएको भनेर सञ्चालक समितिलाई छानबिनको लागि पत्र प्राप्त भएको छ ।
मौरिससमा बसेका नेपालीले एमएन्डएम रेमिटबाट बैंकलाई पठाएको पैसा उतै हराएको छ । बैंकले नेपालमा भुक्तानी दिएपछि त्यो पैसा बैंकमा नआएको हो । बैंकका अध्यक्ष श्रेष्ठ र बैंकका तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको मिलेमतोमा पैसा उतैबाट गाएब भएको हो ।
स्रोतका अनुसार बैंकमा पैसा आउनुभन्दा अगाडि नै अध्यक्ष श्रेष्ठ मौरिसस गई एमएन्डएम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेटिङ मिलाई पैसा बैंकमा नहाली आफैंले रेमिट्यान्स कम्पनी खोली उक्त रकम आफ्नै रेमिट्यान्समा पैसा पठाएका हुन् । बैंकको पैसा हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्षका ज्वाई नाता पर्ने रमेशकुमार श्रेष्ठको पनि मिलेमतो रहेको स्रोतले बतायो ।
के छ बैंकका लगानीले लेखेको पत्र
उपरोक्त सम्बन्धमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडले एमएम रेमिटसँग गरेको रेमिट्यान्स कारोबारमा बैंकलाई करिब ६ करोड व्यवस्था गर्नु परेको छ । साथै तत्कालीन नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईसमेतको संलग्नता रहेको आधारमा नेपाल राष्ट्र बैंकले उनलाई कारबाही गर्न सेन्चुरी बैंकको संचालक समितिलाई २०७६ साल असारमा नै निर्देशन दिएको र कारवाही अगावै उनले राजीनामा दिएका छन् ।
तर एक बर्ष अवधि बितिसक्दा समेत संचालक समितिले बैंकको रकम उठाउन नसक्नु तथा पहल नगर्नुको कारण के हो ? बैंकको क्षति साथै बैदेशिक मुद्रा अपचलन जस्तो अति महत्वपूर्ण विषयको सम्बन्धमा संचालक समितिले मध्यस्तकर्ता मात्र नियुक्ति गरी प्रायः मौन रहने कारण के ? किन सञ्चालक समितिले व्यवस्थापनसँग यस विषयमा प्रगति विवरण बारम्बार माग गरेन र किन एमएम रेमिटलाई पत्रचार गर्नेतर्फ पहल गरेन ?
बैंकका सञ्चालक मध्येका राजेश श्रेष्ठ, हालका सञ्चालक रणबहादुर श्रेष्ठ तत्कालीन रेमिट प्रमुख रमेश श्रेष्ठ साथै अन्य कर्मचारी समेत मिली राम्रो रेमिट प्राली दर्ता गरी २०७३ साउन १६ गते कारोबार सञ्चालन गरेका थिए । राजु श्रेष्ठको ४५ थान निजी २५ लाख भुक्तानी गरेर बाँकी २० लाख मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको देखिन्छ । सञ्चालक तथा अध्यक्ष राजेश श्रेष्ठ र जिवन भट्राई मौरिसस गएर मनिषराज पन्तको पाँचतारे होटलमा बसी बैंकका उच्च पदाधिकारीसँग मिली रेमिट सञ्चालनको योजना बनाएको देखिन्छ ।
सेयर बापतको रकम करिब आधा मात्रै तिरेर नेपाल राष्ट्र बैंकले समेत भट्टराईलाई सहज निकासा दिएको थियो । बैंकका अध्यक्षले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नो दाइ भएको र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राम्रो समन्ध भएको भन्दै केही समस्या नआउने बैंकका कर्मचारीलाई समेत आश्वासन दिने गरेको स्रोतले बतायो ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले यस विषयमा छानबिन भइरहेकोले अहिले आफू केही नबोल्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नगर बमबहादुर मिश्रले सेन्चुरी कमर्सियल बैंकलाई कारबाहीको प्रक्रिया सुरु गरेको बताए । उनले भने–‘ सेन्चुरी बैंकलाई स्पष्टीकरण सोध्दैछौं । उसले पठाएको स्पष्टीकारण चित बुझेन भने पुनः अन्य प्रक्रिया सुरु गर्ने छौं । यो यति नै समयमा सकिन्छ भन्ने छैन । राष्ट्र बैंकले कमर्सियल बैंकमा आउनुपर्ने पैसा नआएको पत्ता लगाएर त्यसको प्रक्रिया सुरु गरेको छ ।’
बैंकका अध्यक्ष श्रेष्ठले नेपाली काँग्रसको सरकार आएको र अब सबै कुरा आफ्नो पक्षमा रहेको भन्दै कर्मचारीलाई आश्वस्त पार्दैआएका छन् ।