सिन्धुपाल्चोक । गत असार १ गतेको अविरल वर्षासंगै आएको बाढीबाट जिल्लाको मेलम्ची र हेलम्बु गाउँपालिका अस्तब्यस्त बने । उक्त बाढीबाट पाँच जनाको मृत्यु भयो, २० जना बेपत्ता छन् भने सयौँ परिवार विस्थापित भएका छन् ।
मेलम्चीमा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि थप क्षति नहोस भन्ने कामनासहित इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितीले मन्दिर हेलम्बु ६, पिपलचौर र नदि तटमा महायज्ञ सुरु भएको छ। हिजोदेखि सुरु भएको महायज्ञ आजसम्म चल्ने बताइएको छ।
दुई दिनको विशेष पुजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुहरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताए ।
बाढीको वितण्डा अझै नरोकिएको र विश्व शान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पुजा गरिएको उनले बताए । देवी देवता रिसाएका कारण यसो भएको हुन सक्ने र पुजा लगाएपछी केही कम हुने स्थानीयको विश्वास छ ।